१७ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि थ्री स्टार क्लबलाइ

पोखरा रंगशालामा १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ । सडेन डेथमा नेपाल आर्मीको त्रिुभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले थ्रि स्टार क्लब विजयी भएको हो । खेलमा म्यान अफ दि म्याच जर्सी नं. १९का एलन न्यौपाने घोषित हुनुभएको छ । न्यौपानेले नगद १० हजार र ट्रफी हात पार्नुभएको छ ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा २/२ को गोलको बराबरी र पेनाल्टी सुटआउटमा ४/४ को बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो । प्रतिस्पर्धात्मक खेल ज्यादै रोमाञ्चक बनेको थियो । योसँगै थ्रीस्टारले पाँचौपटक उपाधि जितेको छ । आर्मी चाैंथाेपटक उपाधि चुमेर इतिहास रच्ने अवसरबाट बञ्चित भएको छ ।

उपाधि जितेसँगै थ्री स्टार क्लबले नगद ८ लाख १ हजार नगद तथा नेपाल आर्मीले दोस्रो हुादै ४ लाख १ हजार नगद, ट्रफी र मेडल हात पारेको छ । “खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर डी लाईफ स्टाईल्स प्रा.लि. काठमाण्डौंबाट प्रदान गरिएको छ । वेष्ट अफ फाईफ विधा तर्फको पुरस्कार सल्लाहकार संस्था पृथ्वी राजमार्ग बस सञ्चालक समितिबाट प्रायोजन गरेको छ ।

जसमा प्रत्येकलाई जनही नगद १५ हजार ट्रफि र प्रमाण–पत्र प्रदान गरिएको छ । यसै गरि सनराईज ड्राईभिङ्ग स्कुल प्रा.लि. बाट सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद पुरस्कारको प्रायोजन गरिएको छ । जसलाई नगद रु. २५ हजार ट्रफि र प्रमाण–पत्र प्रदान गरिएको छ ।

अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकहरु मध्ये एक जना दर्शकलाई सि. जि. ईलेक्ट्रोनिक प्रा.लि.बाट एक थान एल. जि.टि.भी. साथै बाबा फाउण्डेशनबाट स्वच्छ हराभरा, पोखरा अभियानका साथ प्रत्येक दिन १–१ थान ५ हजार बराबरको डष्ट विन प्रदान गरिएको आयोजक सहारा क्लबले जनाएको छ । सर्वाधिक गोलकर्ता खेलाडी थ्री स्टारका जर्सी नं. १० का अनिल गुरुङले नगद २५ हजार ट्रफि र प्रमाण–पत्र प्राप्त गर्नुभएको छ ।

Facebook Comments