चिनीयाँ कम्पनी ल्याएर विस्थापित गर्न खोजिएको दुग्ध उत्पादक कृषकको गुनासो
गण्डकी प्रदेशमा चिनीयाँ गाई फार्म स्थापना गर्ने सम्झौताप्रति कास्की जिल्लाका कृषकहरुले विरोध जनाएका छन् । साथै किसानले सरकारले अनुदान उत्पादनका आधारमा गर्नुपर्ने बताएका छन् । वास्तविक किसानले अनुदान नपाएको तर अनुदान लिनेहरुले सरकारले दिने अनुदानको पैसा रहुञ्जेल कृषिमा रहने अन्यथा कृषि पेशामा नै नरहने कृषकहरुको दावी रहेको छ ।
पाेखरामा भएकाे छलपफल कार्यक्रममा सहभागी किसानहरूले दुधमा कास्की र समग्र गण्डकी प्रदेश आत्मनिर्भर भएको भन्दै चिनीयाँ गाई ल्याउन आवश्यक नभएको बताएका थिए । विदेशबाट गाई नभई बिऊ मात्रै ल्याउन र कृषकरुलाई नै उन्नत जातका गाई उत्पादनमा सरिक गराउन आग्रह गरेका छन् । गाईभन्दा प्रविधि ल्याउनुपर्नेमा कृषकहरुको जोड थियो ।
कार्यक्रममा बोल्दै किसान महासंघ कास्कीका संयोजक तथा सप्तगण्डकी दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष पुण्य पौडेलले चीनबाट गाई ल्याएर दूध उत्पादन गर्ने निर्णय नसच्याए किसानहरुले आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

पौडेलले चिनीयाँ कम्पनीलाई बाटो, विजुली, जग्गा लगायतका पुर्वाधार सरकारले व्यवस्थापन गर्न नहुने बताउनुभयो । उहाँले सहुलियत ऋणको मात्रै व्यवस्थापन गर्ने हो भने नेपाली लगानीकर्ताले नै आवश्यक कृषिजन्य उत्पादन प्रयाप्त मात्रामा गर्न सक्ने बताउनुभयो । केही व्यक्तिले मन्त्री, सचिव लगायतलाई प्रभावमा पारेकाले यस्तो सम्झौता भएको पौडेलले आरोप लगाउनुभयो ।
प्रदेशका ५० औं हजार कृषकलाई विस्थापित गर्ने गरी प्रदेश सरकारले चिनीयाँ कम्पनीसँग सम्झौता गरेकोप्रति उहाँले असन्तुष्टी व्यक्त गर्नुभयो । जानकी एग्रो फार्मका सञ्चालक दीपक तिमिल्सिनाले प्रविधी भित्राउने बहानामा सरकारले किसान बिस्थापित गर्न खोजेको आरोप लगाउनुभयो ।
पुँजी र प्रविधी भित्राउनु राम्रो भएपनि यहाँ पेशा व्यवसाय गर्ने किसान बिस्थापित गर्न नहुने बताउनुभयो । हिमाल डेरीका अध्यक्ष शिवहरी आचार्यले चिनीयाँ कम्पनी स्थापना भएपछि यहाँका गाई पालक किसान, दूग्ध उत्पादक, दूग्धजन्य उद्योग सबै संकटमा पर्ने बताउनुभयो ।
दुधको भुक्तानी नपाएकाले कृषकले गाइ पाल्न छाडिरहेको र उत्पादित दुधले बजार नपाइरहेको सन्दर्भमा बुहराष्ट्रिय कम्पनीलाई भित्र्याएर झनै किसानलाई मर्कामा पार्न खोजेको छलफलमा सहभागी कृषक नबराज बरालको भनाई थियो ।
पुम्दी, लाचोक, घाचोक, पोखरा लगायतका स्थानमा भैसी तथा गाईपालनमा संलग्न कृषक उद्यमी, डेरी उद्योगी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । दुग्ध उत्पादक कृषकहरु सरोकारवाला भएपनि कुनै छलफल नै नगरी चीनको कम्पनीसँग सम्झौता गरिएको भन्दै कृषकहरुले विरोध जनाएका हुन् ।
यसअघि पनि नेदरल्याण्डबाट होलिस्टिन गाई ल्याएर असफलता बेहोरेको भन्दै त्यही नियति हुने आशंका समेत कृषकहरुले गरेका छन् । सम्झौतामा भने कृषकको दुध समेत विक्री वितरणमा समस्या आएमा सोही कम्पनीले खरिद गर्ने र चीनमा लैजाने उल्लेख छ ।

