‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ शुरु

पोखरामा प्रदेश स्तरीय ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ शुरु भएको छ । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) को आयोजनामा पोखराको प्रदर्शनी केन्द्रमा सातौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ शुरु भएको हो ।

महोत्सवमा १ सय ३० वटा स्टल रहेको सिटी रेवानका अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । १० वटा खाना तथा खाजा सहित कृषिजन्य, हस्तकला, राष्ट्रिय तथा स्थानीय उत्पादनका स्टलहरु रहेको छ ।

मेला अवधिमा महाशिवरात्रि परेकाले वृहद आकारको शिवलिंगको प्रतिमा तयार पारिएको छ । शिवरात्रिका अवसरमा सोमबार शिवलिंगका पूजा गर्ने व्यवस्था मिलाइएको पनि तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसपटक कम्प्युटर एशोसिएसन महासंघ (क्यान) कास्कीसँगको सहकार्यमा सूचना तथा प्रविधिमेला समेत सँगै आयोजना भएकाले सबै प्रकारका दर्शकका लागि महोत्सव उपयुक्त हुने आयोजकको भनाई छ ।

पप कन्सर्ट, गृहिणी नृत्य प्रतियोगिता, भजन चुड्का, ढिडो खाने प्रतियोगिता लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम महोत्सवमा गरिने महासचिव जीवन दाहालले जानकारी दिनुभयो । विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिता महोत्सवको विशेष आकर्षण बन्ने सांस्कृतिक उपसमिति संयोजक यामबहादुर गुरुङले जानकारी दिनुभयो ।

विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिताका प्रथम हुनेलाई ५१ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाउनेछन् । प्रतियोतिामा द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Facebook Comments