पाकिस्तानी आकाश सोमबारदेखि हवाई उडानमा पूर्णरुपमा खुला

पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्णरुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाव बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरेको थियो । पाकिस्तानका सबै विमानस्थलहरु र पाकिस्तानी आकाश खुला गरिएको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो ।

पाकिस्तानले गत बुधबार आदेश जारी गरेसँगै हवाई उडान अवरुद्ध हुँदा युरोप र एसियाबीचको हवाई यात्रामा नराम्रो असर परेको थियो । हजारौं हवाई यात्री विश्वका विभिन्न विमानस्थलमा अलपत्र परेका थिए । विश्व समुदायले आणविक शक्ति राष्ट्र भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका थिए । पछिल्लो समय दुवै मुलुकले एकार्काका युद्धक विमान खसालेको दाबी गरेका थिए ।

विश्वकै नवौं अग्लो पाकिस्तानको नाँगा पर्वतमा हराइरहेका दुईजना बेलायती र इटालेली पर्वतारोहीको खोजी कार्यमा समेत असर परेको छ । पाकिस्तानले शुक्रबारदेखि नै आफ्नो हवाई आकाश खुला गर्न थालेको थियो । पाकिस्तानी आकाश खुला हुनुलाई दुई देशबीच जारी तनाव विस्तारै कम हुन थालेको रुपमा पनि हेरिएको छ ।

Facebook Comments