गुइदो स्वदेश फिर्ता, हजारौं समर्थकद्वारा स्वागत

भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता हुँवा गुइदो स्वदेश फर्कनुभएको छ । अदालतले देश छोड्न लगाएको प्रतिबन्धको बेवास्ता गर्दै विदेश जानुभएका गुइदो स्वदेश फिर्ता हुनुभएको हो ।

गुइदोले दक्षिण अमेरिकी देशहरुको भ्रमण गर्नुभएको थियो । भेनेजजुएलाको राजधानी काराकासमा उहाँलाई हजारौं समर्थकले स्वागत गरेका थिए । भेनेजुएलाका अधिकारीले पक्राउ गर्न सक्ने सम्भावनाका बीच पनि गुइदो स्वदेश फर्कनुभएको हो । मुलुकमा संकट उत्पन्न भएको भन्दै सीमापार जम्मा भइरहेको मानवीय सहायता भित्र्याउने भन्दै उहाँ १० दिनअघि कोलम्बियातर्फ लाग्नुभएको थियो ।

गुइदो कोलम्बियामा आयोजित क्षेत्रीय नेता एवम् अमेरिकी उपराष्ट्रपति सहभागी एक बैठकमा समेत सहभागी हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इक्वेडरका राष्ट्रपति लेनिन मोरिनोसँग शनिबार भेटवार्ता गरेपछि गुइदो सलिनासबाट बन्दरगाह रहेको शहर गुयाक्वीलका हुँदै भेनेजुएलाको राजधानी काराकास पुग्नुभएको हो ।

काराकासस्थित साइमन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा गुइदोको स्वागत लागि अमेरिका र युरोपेली देशका कूटनीतिज्ञहरुसमेत पगेका थिए । सडकमा हजारौं उत्साही समर्थकहरुलाई सम्बोधन गर्दै गुइदोले भेनेजुएलाका जनताले तर्सिनुपर्ने अवस्था नरहेको बताउनुभएको थियो । साथै उहाँले राष्ट्रपति निकोलस मदुरोको आदेश जनताले पालना नगर्ने जिकीर समेत गर्नुभयो । मदुरोले तत्काल राजीनामा दिनुपर्ने गुइदोको भनाई थियो ।

Facebook Comments