स्याङ्जामा अन्तराष्ट्रिय माउन्टेन वाईक प्रतियोगिता हुने

स्याङ्जा जिल्लाको वालिङमा पर्यटन प्रर्वद्धनका अन्तराष्ट्रिय माउन्टेन वाईक प्रतियोगिता हुने भएको छ । वण्डरफूल वालिङ पर्यटन विकास संस्थाद्धारा वालिङ नगरपालिकाको संरक्षकत्वमा एक दिवसीय प्रतियोगिता हुने विहिबार वालिङमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको होे ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडि सहभागि हुने वण्डरफूलका अध्यक्ष दिनकर नेपालले बताउनुभयो । माउण्टेन वाईक प्रतियोगिताले वालिङलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा २ पटक सम्म वल्र्ड च्याम्पियन बनेका क्यानेडियन खेलाडी, भारतीय खेलाडी, आर्मी, एपिएफको समेत सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजनाबाट वालिङलाई साहसिक खेलको केन्द्र बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

संस्कार संस्कृति, पर्यटन र प्रकृतिका माध्यमबाट वालिङ तथा स्याङ्जामा पर्यटक भित्र्याउने र पर्यटनका विकास गरी यहाँका नागरिकको जिवनस्तर माथि उकास्ने उद्देश्यले स्थापित वण्डरफूल वालिङ यहाँका युवाहरुको संस्था हो ।

यहाँ रहेका होमिस्टेको प्रचारप्रसार गर्दै पर्यटक आगमनमा अभिवृद्धि गर्नका लागी प्रतियोगिताले सहयोग गर्ने अपेक्षा लिईएको छ । कार्यक्रममा वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांणले प्रतियोगिताको आयोजना गर्नु दुरगामी लगानी भएको भन्दै यसले पर्यटन र साहसिक खेलमा एउटा कोषे ढुङ्गा सावित गर्ने बताउनुभयो । साईकलको प्रयोग जो कोहीको लागी पनि स्वास्थ्यका दृष्टिकोणबाट निकै लाभदायक रहेको उहाँको भनाई थियो ।

वालिङको सुकौँदी बगरबाट शुरु हुने प्रतियोगिता त्रियासी, छापागाँउ, सिंगारकोट, माँझकोट, तलाथोक, मिनाङकोट, जगतभञ्याङ, केँवरे, चिहानडाँडा, काफलडाँडा, गह्रौँशुर मन्दिर, बजाकोट, दाङसेया, करादी, झोलुङगे, उदियाचौर, घुरुङखा, डुम्रेभञ्याङ, स्वरेकमैदान, टापु भञ्याङ, डौँवा हुँदै पुनः सुकौँदी आएर सय किलोमटिर यात्रा पुरा हुने वण्डरफूलका सचिव मोहन गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिता शनिबार फाल्गुन २५ गते विहान ७ बजेबाट शुरु हुने र साँझ ५ बजे सकिने सचिव गुरुङले जानकारी दिनुभयो । प्रतियोगिहरुलाई यहाँका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा स्थानीयले स्वागत गर्नेछन् ।

Facebook Comments