अमेरिकी बोइङ कम्पनीद्वारा ७३७ म्याक्स मोडलका विमान उडाउन राेक, प्राविधक अध्ययन जारी
विभिन्न मुलुकहरुले बोइङ निर्माता कम्पनीको विमान ७३७ म्याक्स ८ मोडलका विमान उडाउन रोक लगाईरहेका बेला विमान कम्पनीले नै उडानमा रोक लगाएको छ । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमान उडाउन रोक लगाएको हो । अर्को निर्णय नभएसम्म ती मोडलका सबै विमान नउडाउन उसले वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
अमेरिकी उड्डयन नियामक निकायले इथियोपियामा उक्त मोडलको विमान दुर्घटनासम्बन्धी नयाँ तथ्य प्राप्त गरेपछि यस्तो निर्णय गरिएको निर्माण कम्पनीले जनाएको छ । करिब ६ महिना अघि लायन एयरको सोही मोडलको विमान दुर्घटना भएको थियो ।
६ महिनाकै अन्तरालमा एउटै मोडलका विमान उस्तै प्रकृतिको दुर्घटनामा परेपछि उक्त मोडलमा सुरक्षासम्बन्धी त्रुटी रहेको आशंका गरिएको छ । बोइङ कम्पनीका अनुसार दुर्घटना स्थलको प्रारम्भिक अनुसन्धान र भूउपग्रहबाट संकलित विवरणका आधारमा पछिल्लो निर्णय लिइएको हो ।
अनुसन्धानका क्रममा प्राप्त केही प्रमाण इथियोपियन एयरलाइन्स र लायन एयरको विमान दुर्घटनामा साझा समस्याका रुपमा पाइएको कम्पनीले जनाएको छ । हाल विश्वमा उक्त मोडलका ३७१ विमान विभिन्न वायुसेवा कम्पनीमा सञ्चालित छन् । पछिल्ला दिनमा विभिन्न मुलुकले ती मोडलका विमान उडानमा रोक लगाएका थिए ।

