तनहुँका ६६ विद्यार्थी एसईई दिनबाट वन्चित
तनहुँका ६६ जना विद्यार्थी माध्यमिक शिक्षा परिक्षा (एसईई) दिन वन्चित भएका छन् । विद्यालयमा नियमित उपस्थित नहुदाँ ७५ प्रतिशत हाजिरी नपुगेका कारण ६६ जना विद्यार्थीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
एसईईमा सहभागी हुन विद्यार्थीले कम्तीमा पनि ७५ प्रतिशत हाजरी हुनुपर्ने व्यवस्था रहेको छ । विद्यालय पढ्दापढ्दै बिहे गरेका, रोजगारीको खोजी गर्दै गरेका र केही विरामी भएका विद्यार्थीहरु नियमित विद्यालय आउन नसक्दा परीक्षा दिनबाट वञ्चित हुनुपरेको हो ।
जिल्ला शिक्षा तथा समन्वय इकाईले दिएको जानकारी अनुसार जिल्लाबाट ६ हजार २ सय ९१ विद्यार्थी एसईई परिक्षामा सहभागी भएका छन् । सहभागी मध्ये ६ हजार १ सय २ सामान्य धारका, १ सय २६ प्राविधिक र ६३ जना ग्रेडबृद्धी गर्ने परिक्षार्थी छन् । जिल्लाका ३ वटा विद्यालयमा प्राविधिक विषयको पढाई हुदै आएको छ ।
निर्वाचन क्षेत्र नम्वर १ मा १५ र निर्वाचन क्षेत्र नम्वर २ मा ९ वटा गरी २४ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा २४ जना केन्द्राध्यक्ष, ४१ जना सहायक केन्द्राध्यक्ष, ३ सय १८ जना निरीक्षक, ६४ जना परीक्षा सहायक, १ सय २७ जना सहयोगी कर्मचारी र आवश्यकता अनुसार सुरक्षाकर्मी खटिनेछन् ।
यसैवीच तनहुँ जिल्लाको एउटा मात्रै केन्द्रमा महिला केन्द्राध्यक्ष तोकिएको छ । आँबुखैरेनी गाउँपालिका १ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा सरितादेवी पौडेल केन्द्राध्यक्षका रुपमा रहनुभएको छ । परीक्षालाई मर्यादित बनाउन विद्यालयको प्रवेशद्वारमा विद्यार्थीको चेकजाँच गरिने छ । यस्तै, परीक्षाहलमा मोबाइल लैजान निषेध गरिएको छ ।

