बोइङ्ग कम्पनीको म्याक्स मोडलको उत्पादन कटाैति
जहाज निर्माण र बिक्रीमा समेत उल्लेख्य सफल अमेरिकी बोइङ्ग कम्पनीले आफ्नो नयाँ विमान ‘७३७ म्याक्स ८’ मोडलको उत्पादनमा कटौती गर्ने भएको छ । उक्त मोडेलका दुई नयाँ विमान ६ महिनाकै अन्तरालमा दुर्घटना भएपछि बोइङ्ग कम्पनीले नै नयाँ विमान ‘७३७ म्याक्स ८’ मोडलको उत्पादन कटौतिको निर्णय गरिएको कम्पनीले जनाएको छ ।
इथियोपियाली एयरलाइन्सको विमान उडान भरेको ६ मिनेटमै दुर्घटनामा परेपछि बोइङ्ग कम्पनीको नयाँ विमान ‘७३७ म्याक्स ८’ मोडलमा नै प्राविधिक कमजोरी रहेको आशंका गरिएको थियो ।
हाल प्रतिमहिना ५२ वटा जहाज निर्माण हुने गरेकामा अवदेखि ४२ मा झार्ने निर्णय गरेको कम्पनीले जनाएको छ । यसअघि शुरुमा विभिन्न देशले ‘७३७ म्याक्स ८’ मोडलका जहाज उडाउन प्रतिबन्ध लगाएका थिए भने बोइङ्ग कम्पनीले नै उडानमा रोक लगाएर अनुसन्धान थालेको थियो । हाल उक्त मोडलका जहाजको प्राविधिक परीक्षण भइरहेको कम्पनीले जनाएको छ ।
आइतबार इथियोपियाली एयरलाइन्सको विमान उडान भरेको ६ मिनेटमै टावरसँग सम्पर्क्विच्छेद भएर दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानमा सवार १५७ जनाको मृत्यु भयो । गत अक्टोबरमा पनि सोही मोडलको लायर एयरको विमान जाभा सागरमाथि दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो । उक्त विमान पनि उडान भरेको १३ मिनेटमा नै दुर्घटना परेको थियो ।
बोइङ्ग कम्पनीका ‘७३७ म्याक्स ८’ मोडलका विमानले व्यावसायिक उडान थालेको दुई वर्ष मात्र भएको छ । नयाँ ब्राण्डको विमान छोटो समयमै यसरी दुर्घटना हुनु असामान्य रहेको टिप्पणी हुने गरेको थियो ।

इथियोपियाली एयरलाइन्सको विमान र लायन एयरको विमान दुर्घटनामा धेरै समानता रहेको विज्ञहरुले बताएका छन् । सुरक्षाका लागि उपलब्ध गराइएका केही खास प्रविधिबारे पाइलटलाई राम्रो जानकारी नभएको गुनासो समेत गर्न थालिएको छ । खास परिस्थितिमा विमान एक्कासी तल झर्ने फिचर नयाँ मोडलमा समावेश भएपनि उपयोग हुन नसकेको बताइएको छ ।
लायन एयर दुर्घटनामा ज्यान गुमाएका एक यात्रुको परिवारले बोइङ्गविरुद्ध मुद्दासमेत दायर गरेका छन् । विमानमा जडान गरिएको नयाँ सुरक्षा फिचरका कारण खास परिस्थितिमा विमान ‘अटो डाइभ’ गर्ने भएकाले यसबारे कम्पनीले पाइटलहरुलाई उचित प्रशिक्षण नदिएको पीडित परिवारजनको आरोप छ ।

