फानी आँधीको प्रभाव : ८ लाख सुरक्षित स्थानमा
भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधीले पहिरो जाने तथा केही घरहरुमा समेत क्षति पुगेको खबर छ । आँधी आउनु पूर्व नै त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ ।
सामुद्रिक आँधी २ सय ५० किलोमिटर प्रतिघन्टा सम्मको गतिमा रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । मौसमविद्हरुको सुझावमा आँधीले प्रभाव पार्न सक्ने स्थानका नागरिकलाई विहीबार नै सुरक्षित स्थानमा सारिएको हो ।

भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले उडिसा राज्यको कम्तीमा १३ ओटा जिल्लाका ७ लाख ८० हजार व्यक्तिलाई आँधीले प्रभाव पार्नसक्ने बताएका थिए । ‘फानी’ नामक यस सामुद्रिक आँधीका कारण आज अपराह्नमा हिन्दुहरुको तीर्थस्थल पुरीनजिकै भूस्खलन हुने पनि अनुमान गरिएको छ ।

हाल बंगालको खाडीबाट यस समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघन्टाको वेगमा भारतको ओडिसा राज्यबाट बंगलादेशतिर बढिरहेको बताइएको छ । फानी ओडिसाको तट हुँदै बंगलादेशतर्फ लागेको र गति पनि कम भएको बताईएको छ ।

