करापुटारमा मध्यनेपाल धार्मिक महोत्सव हुने
धार्मिक हिसाबले निकै महत्व बोकेको लमजुङ करापुटारमा यहि फागुन १६ गते देखि २१ गते सम्म मध्यनेपाल धार्मिक महोत्सव हुने भएको छ । करापुटार क्षेत्रलाइ मुख्य हव बनाएर नेपालको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक तथा पर्यटकिय महत्व बोकेको गण्डकी प्रदेशकै पवित्र तिर्थस्थलको रुपमा रहेको इशानेश्वर महादेव मन्दिर परिसरमा महोत्सव गर्न लागिएको लमजुङ मध्य नेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डेले जानकारी दिनुभयो ।
प्रचारको अभावले माथि उठन नसकेको यस क्षेत्रलाइ महोत्सवको माध्यमले विकास गराउन सकिने उहाँको भनाइ छ । महोत्सवमा बिभीन्न देश बिदेशबाट आएका धार्मिक गुरुहरुको सहभागिता रहने हुँदा उक्त क्षेत्रको प्रचार प्रसार हुने पाण्डेको भनाई रहेको छ ।
धार्मिक पर्यटन प्रवद्र्धन गर्ने ,पर्यटकिय गन्तव्यहरुको प्रचार प्रसार गरि दीर्घकालिन सोचका साथ मध्य नेपालको आर्थिक समृद्धिका जग निर्माण गर्ने लक्ष्य साथ अगाडी बढेको उहाँको भनाई रहेको छ । इशानेश्वर महादेवको मन्दिरलाइ देश बिदेशमा चिनाउने, पर्यटकिय गन्तव्यहरुलाइ प्रवद्र्धन गरि आर्थिक लाभ आर्जन गर्ने, प्राकृतिक सम्पदा र होमस्टेको बिकास गरि पर्यटनको बिकास गर्ने ,प्याराग्लाइडिङ र केवुलकार संचालन गर्ने महोत्सवको उदेश्य राखिएको छ ।
इशानेश्वर क्षेत्र बिकास समितिका अध्यक्ष रामचन्द्र घिमीरेले धार्मिक रुपले निकै महत्व बोकेको यस ठाँउमा हजारौ भक्तजनहरु आउने गरेको जानकारी दिनुभयो । उक्त महोत्सवमा स्वदेश लगायत अन्य देशबाट एक लाख भन्दा बढि दर्शक भक्तजनले अवलोकन गर्ने, ३ करोड आम्दानी हुने ६० लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
प्राचिनकालमा हरिनारायण पोख्रेलद्वारा बिउ राख्न खेत जोत्न लाग्दा शिव लिङ जोतिन गइ रगत बग्न थाल्यो र हल गो.रु सहित हलिको मृत्यु भएको र तेहि ठाँउमा शिव लिङ उत्पत्ती भएको किवंदन्ती छ । सम्वत १४१४ मा तत्कालिन लमजुङका राजा वीरनारायण शाहाद्धारा मन्दिर निर्माण गरि पुजा आर्चना गर्दै आएको भनिन्छ ।
गोरखाका राजा कृण्ण शाहाको सन्तान नभए पछि महाशिवरात्रीका दिन मन्दिरमा आइ रातभर ठाडो बत्ति सन्तान प्राप्त गरेकोले सन्तान नहुनेले ठाडो बत्ति बाल्ने प्रचलन छ । स्कन्द पुराणको स्वस्थानी व्रत कथामा माहेन्द्री नदिको तटमा सती देवीको दाहिने तिघ्रा पतन भएको र सो ठाँउमा तारकेश्वर महादेव उत्पती भएको कुरा किवंदन्तीमा रहेको यस मन्दिर धार्मिक हिसाबले निकै महत्व बोकेको मानिन्छ ।

