पाल्पाली समाज पोखराको रजत वर्ष, रक्तदान कार्यक्रम र वृद्धवृद्धालाई सहयोग
पाल्पाली समाज पोखरा स्थापनाको रजत वर्ष अवसरमा समाजले पोखरामा खुला रक्तदान कार्यक्रम गरेको छ । महेन्द्रपुलमा बुधबार बिहान आयोजित सो कार्यक्रममा ३७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक समाजका द्वितीय उपाध्यक्ष बालचन्द्र परियारले जानकारी दिनुभयो
।
प्रमुख अतिथि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजेश पन्थीले पहिलो रक्तदाता समाजका अध्यक्ष कुलप्रसाद घिमिरेलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभएको हो । पाल्पा मूल घर भएका सहायक सिडिओ पन्थीले रक्तदानले कसैको ज्यान जोगिने हुँदा समाजले गरेको सह्राहनीय कार्यको प्रशंसा गर्नुभयो । यसैबीच, समाजले स्थापनाको रजत वर्ष अवसरमा माटेपानीस्थित आनन्दित गृह नेपाल (ह्याप्पी होम) लाई सहयोग गरेको छ ।
समाजका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेलको स्पोन्सरमा समाजले वृद्धवृद्धालाई चिसोबाट बच्न ह्याप्पी होममा गुणस्तरको कार्पेट सहयोग गरेको हो । पोखरामा २०३८ सालदेखि नै पाल्पाली चौतारोबाट स्थापित पाल्पाली समाज पोखरा २०५१ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यस क्षेत्रको पहिलो सम्पर्क समाज हो ।

