पौष १५ः ल्होसार पर्व विभिन्न कार्यक्रमका साथ मनाइयो

आज पौष १५ अर्थात् गुरुङ जातिको नयाँ वर्ष । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व धुमधामका साथ मनाएका छन् । फो– ल्होसार बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको हो । मुलुकका गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको संकेत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको जनविश्वास रहेको छ ।

ल्होसारका अवसरमा तमु समुदायका विभिन्न संघ संस्थाले सांगीतिक कार्यक्रम, ल्होसार महोत्सव लगायतका कार्यक्रम गरिरहेका छन् । अघिल्लो साँझदेखि पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गर्ने प्रचलन रहेको छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।

ल्होसारको दिन आफ्ना भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् ।

ल्होसारकै अवसरमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर रमाइलो गर्ने प्रचलन समेत रहेको छ । प्रत्येक १२ बर्षमा युग परिबर्तन हुने र यी १२ बर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेका प्रतीकका रुपमा लिइन्छ ।

ल्होसारको अवसरमा काठमाडौँको टुडिखेलमा विशेष कार्यक्रम गरिंदैछ । पोखरामा तमु धिं, तमु प्ये ल्हु संघ, लगायतका विभिन्न संघ संस्थाले रक्तदान, शुभकामना आदन प्रदान, सांगीतिक कार्यक्रम गरेर ल्होसार मनाउँदैन् ।
ल्होसार पर्वमा प्रदेश सरकारद्वारा सार्वजनिक विदा

गण्डकी प्रदेश सरकारले ल्होसारका अवसरमा सार्वजनिक विदा दिएको छ । तर संघ र प्रदेश संरचनाका कारण विदा कार्यान्वयन भने कठिनाई दिएको छ । संघ मातहत रहेका कार्यलय, बैंक तथा वित्तीय संस्थाहरु खुल्ला रहने भएका छन् । यसअघि प्रदेश नं. २ मा पनि प्रदेश सरकारको विदा कार्यान्वयनमा विवाद भएको थियो ।

Facebook Comments