पोखरा सडक महोत्सवमा सन् २०१८ लाई विदाई र २०१९को स्वागत गरिदैं

रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी पोखरा सडक महोत्सवमा आज सन् २०१८ लाई विदाई गर्दै सन् २०१९ को स्वागत गरिदैंछ । न्यू इयर इभका अवसरमा लेकसाइडमा महोत्सवका अवसरमा विशेष कार्यक्रम गरिनेछ । रातको १२ बजे नयाँ बर्षको स्वागतमा विशेष कार्यक्रम गरिने महोत्सव आयोजक संस्था रेबानले जनाएको छ ।

महोत्सवमा अवलोकनकर्ताहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । त्यसैगरि महोत्सवको मुख्य स्थल कोमागानेपार्क पनि खचाखच दर्शकले भरिएको छ । नयाँ बर्षको स्वागतमा हुने कार्यक्रम अवलोकनका लागि पोखरामा छिमेकी जिल्लाहरुबाट हजारौंको संख्यामा आन्तरिक पर्यटकहरु आउने गर्दछन् ।

अहिले पोखराका होटलहरु शतप्रतिशत बुकिङको अवस्थामा हुने गर्दछन् । लेकसाइडमा मात्र नभई पोखराका सिर्जनाचोक, पृथ्वीचोक लगायतका अन्य स्थानमा रहेका होटलसमेत न्यू इयरका दिनमा भरिभराउ हुने गर्दछ ।

महोत्सवमा सांगीतिक कार्यक्रम र लाइभ कन्सर्ट जारी रहेका छन् । महोत्सवमा आज सोमबार टुरिष्ट रेस, स्टाफ रेस लगायतका प्रतिस्पर्धाहरु हुने खेलकुद उपसमिति संयोजक विकास भट्टराईले जानकारी दिनुभयो ।

सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका साथ जारी २० औ पोखरा सडक महोत्सवमा आइतबार रेवानमा आवद्ध विभिन्न रेष्टुरेण्टमा कार्यरत वेटरहरुविच दौड प्रतियोगिता सम्पन्न भयो । यसअघि शनिबार सम्पन्न डुँगा दौडमा स्विमिङपुल घाट ए प्रथम, बाराही घाट द्धितिय तथा फेवा घाट तृतीय भए । बोट रेसमा प्रथमले नगद १५ हजार, द्धितियले नगद ८ हजार तथा तृतीयले नगद ५ हजार पुसरुकार प्राप्त गरे ।

रस्साकसीमा होलिग्यान्स नेपाल टिम प्रथम, गौरीघाट टिम द्धितिय भए । प्रतियोगितामा प्रथम हुने समुहले नगद १५ हजार तथा द्धितियले नगद १० हजार प्राप्त गरे । विजयी खेलाडीहरुलाई रेवान पोखरा अध्यक्ष भिमसेन भुजेल, सदस्य विश्वराज पौडेल, टान उपाध्यक्ष सुसिल पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

लेकसाइडको तीन किलोमिटर क्षेत्रभित्रको विभिन्न स्थानहरुमा पनि साँस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रम भएका छन् । त्यसैगरि सडक महोत्सवको अवसर पारि विभिन्न रेष्टुरेण्टहरुले पनि आ–आफ्नैं कार्यक्रमहरु गरेका छन् ।

Facebook Comments