पोखराको खेलकुदमा मेघा इभेन्ट, अन्तराष्ट्रिय क्रस कन्ट्री दौड हुँदै

पोखरामा पहिलो पटक अन्तराष्ट्रिय स्तरको क्रस कन्ट्री दौड हुने आयोजना गरिदैंछ । पोखरामा पर्यटक भित्राउने उद्देश्यले असोजको २९ गते (अक्टुबर १६ तारिख) मा अन्तर्र्रारिष्ट्रय क्रस कन्ट्री दौडको आयोजना गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

‘लभ फर रन’ को नारा दिइएको पोखरा इन्टरनेशनल क्रस कन्ट्री रेस–२०१९ को आयोजक पोखरा उद्योग वाणिज्य संघ र चीनको कुन्मिङ माउण्टेनियरिङ एण्ड एक्स्प्लोरेसन एशोसिएसन (केएमइए) रहनेछ ।

क्रस कन्ट्री दौडमा चीनको कुन्मिङबाट ४० जना धावकसहित अफिसियल र पत्रकार गरी ६० जना पोखरा आउने पक्का भइसकेको संयोजक विश्वशंखर पालिखेले जानकारी दिनुभयो ।

विदेशीसहित नेपालबाट तीन विभागीय क्लब र अन्य स्थानीय क्लबका गरी ३० समुहको पनि दौडमा सहभागिता रहनेछ ।

दौडका लागि व्यक्तिगत रुपमा समेत सहभागिता जनाउन पाइनेछ । ४२ दशमलव २ कि.मि. दूरीको दौडमध्ये २२ किलोमिटर दौड, १९९ किलोमिटर साइक्लिङ र १ दशमलव २ कि.मि. बोटिङ हुनेछ ।

पोखरा उपत्यकाको मट्टीखान र पुम्दीभुम्दीको १३ सय मिटरको उचाइसम्म धावकहरु दौडनेछन् ।

पोखराको बाराहीघाटबाट क्रस कन्ट्री दौड शुरु हुनेछ । त्यसपछि, राष्ट्रबैकचोक, ड्यासमइड, डेभिसफल, तिवेटियन क्याम्प, फुर्सेखोला, कमेरा, राम्दी, मट्टीखान, रामकोट, कुभिण्डे, उल्लेरी, खरीखानी, पैयूँ चौतारी, ओखलेडाँडा, कालावाङ, मोतिराजचोक, स्वाँरा, लुकुमस्वाँरा, तल्लागाउँ (गौरी प्रावि), ढुङ्गेपानी, शान्तिस्तुपा पार्किङ, स्तुपा, अनदुडाँडा, लिचिबोट हुँदै फेवातालमा बोटिङ गरेर बाराहीघाटसम्मको लागि क्रस कन्ट्री दौडका लागि रुट तय गरिएको छ ।

दौडमा विजयी प्रथम, द्वितिय र तृतिय हुने टिमका नेपाली खेलाडीले चीनको कुनमिङ हुने शहरमा आयोजना हुने ‘जिआओजी’ माउण्टेनियरिङ रेस’मा सहभागिता जनाउन पाउनेछ ।

गण्डकी प्रदेश सांसद तथा दिपक कोइरालाले यस प्रकारको प्रतियोगिताले प्रदेशमा खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउनुभयो । गण्डकी प्रदेशका अर्थ एवं बिकास समितिका सभापति समेत रहनुभएका कोइरालाले यस प्रतियोगितालाई प्रदेश सरकारकै इभेन्टका रुपमा अगाडी बढाउने भन्ने विषयमा समेत छलफल भइरहेको जानकारी दिनुभयो ।

सहभागी नेपाली खेलाडीको पोखरा बसाईको खर्च पश्चिमाञ्चल होटल संघले गर्ने भएको आयोजक तथा संघका अध्यक्ष बिकल तुलाचनले जानकारी दिनुभयो ।

Facebook Comments