पोखरा महोत्सवको निम्तो बाड्न आयोजक टोली पर्यटकीय गाउ ल्वाङमा

नवौ पोखरा महोत्सवको निम्तो बाड्न महोत्सव आयोजक टोली युनाइटेड क्लवका पदाधिकारीहरु कास्कीको पर्यटकीय गाउ ल्वाङमा पुगेको छ । महोत्सवकै आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन र सेती नदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लवले आगामि पुस २७ गतेबाट हुने महोत्सवको प्रचारका लागि ल्वाङमा पुगेको हो ।

क्लवले सामाजिक दाियत्व अन्तर्गत शिक्षा कार्यक्रममा ग्रामीण भेगमा रहेका विद्यालयमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृद्धि अक्षयकोष, न्यानो कपडा वितरण, शैक्षिक सामाग्री वितरण तथा कम्प्युटरहरु वितरण गर्दैै आइरहेको छ ।

क्लवको आयोजनामा आगामी पुसको २७ देखी माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने नवौ संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार संगै शिक्षा कार्यक्रम अन्तर्गत ल्वाङ गाउमा रहेको बाराही आधारभुत विद्यालयमा रहेका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथी माछापुच्छ्रे गाउपालिका वडा नम्बर ८ का महिला सदस्य पुष्पा गुरुङले विपन्न वालवालिकाकालाई सहयोग गरेको भन्दै युनाइटेड क्लवलाई धन्यवाद दिनुभयो । सामाजिक कामको सिको अन्य क्लवहरुले समेत गर्नुपर्ने वताउदै नवौ पोखरा महोत्सवको सफलताको समेत कामना गर्नुभयो ।

सो अवसरमा वोल्दै युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि सर्मपित भएको उल्लेख गर्नुभयो । उहाँले ग्रामीण भेगका विद्यार्थीहरुलाई कपडा वितरण गर्न पाउदा खुसी व्यक्त गर्नुभयो ।

युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिती संयोजक राजु श्रेष्ठले क्लवको गतिविधीको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमको सञ्चालन क्लवका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक शान्ताबहादुर थापाले गर्नुभएको थियो ।

Facebook Comments