सिटी रेवानले पोखरामा फुड फेस्टिबल गर्ने

आगामी फागुन १७ देखि २५ गतेसम्म हुने ‘सातौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’को तयारी तिव्र पारिकएको आयोजकले जनाएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आगामी फागुन १७ देखि २५ गतेसम्म हुने महोत्सवको तयारीलाई तिब्र बनाइएको शुक्रबार आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले महोत्सवकै अवसरमा शिवरात्री परेकाले शिवलिंग स्थापना गरिने जानकारी दिनुभयो । २० फिट अग्लो शिवलिंग स्थापना गरी शिवरात्री विशेष कार्यक्रम समेत गरिने उहाँको भनाई छ । अध्यक्ष तिमिल्सिनाले यस पटक मेलालाई परिमार्जित गरी थप आकर्षक र व्यवस्थित बनाउने दावी गर्नुभयो ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति सहित खानाका विभिन्न परिकारहरुको मज्जा महोत्सवमा लिन सकिने उहाँले जानकारी दिनुभयो । महोत्सवमा पप कन्सर्ट, गृहिणी नृत्य प्रतियोगिता, भजन चुड्का, ढिडो खाने प्रतियोगिता लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको तिमिल्सिनाले जानकारी दिनुभयो । महोत्सवमा खाना, कृषि, हस्तकला, स्थानीय उत्पादन लगायतका स्टलहरु राखिने महासचिव जीवन दाहालले जानकारी दिनुभयो ।

महोत्सवमा व्यवसाय प्रयोजनमा १ सय ३०, रेस्टुरेन्टका १० र विभिन्न सामाजिक संघसंस्था, सुरक्षा तथा स्वास्थ्य सम्बन्धी २० वटा सहित १ सय ६० वटा स्टल रहनेछन् । महोत्सवमा यस पटक क्यान कास्कीसँग सहकार्य गरी सूचना प्रविधि मेला पनि सँगै हुने भएको छ । प्रदर्शनी केन्द्रस्थित डोममा क्यानले सूचना तथा प्रविधिसँग सम्बन्धित विभिन्न स्टलहरु राख्नेछ ।

सातौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिबलको तयारीलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति चयन गरिएको आयोजकले जनाएको छ । जस अनुसार अध्यक्ष दीपक तिमिल्सिनाको मूल संयोजकत्वमा १२ वटा उपसमिति चयन गरिएको छ ।

अतिथि व्यवस्थापनमा धर्मबन्ध सुवेदी, प्रचारप्रसारमा जीवन दाहाल, सचिवालयमा सागर लुइँटेल, अनुगमनमा चिरञ्जिवी श्रेष्ठ, सुरक्षा तथा संघसंस्था समन्वयमा केपी शर्मा पाध्या, कानुनी परामर्शमा जगन्नाथ ढकाल, सांस्कृतिकमा यामबहादुर गुरुङलाई संयोजक तोकिएको अध्यक्ष तिमिल्सनाले जानकारी दिनुभयो ।

स्टेल व्यवस्थापनमा पार्वती जिसी, आर्थिक व्यवस्थापनमा रामप्रसाद ज्ञवाली, बाल उद्यानमा दयाराम सापकोटा, खाजा, खाना तथा रेष्टुरेन्ट व्यवस्थापनमा प्रकाश सुवेदी, व्यानर व्यवस्थापनमा प्रेम सापकोटा, स्टल अनुगमनमा पिताम्बर पौडेल, स्वास्थ्य उपचारमा देवेन्द्र लम्साल, पानी तथा सरसफाईमा यमनाथ ढकाल, साउण्ड सिस्टममा अर्जुन खनाल, टिकट व्यवस्थापनमा डिल्लिराम पाण्डेलाई संयोजक तोकिएको महासचिव जीवन दाहालले जानकारी दिनुभयो ।

Facebook Comments