सहकारीले कर्जामा १६ प्रतिशतसम्म ब्याज लिन पाउने

सरकारले सहकारी संस्थाहरुको ब्याजदरको सीमा तोकिदिएको छ । सन्दर्भ ब्याजदर निर्धारण समितिले सहकारी संस्थाहरुको निक्षेप र कर्जा दुवैको ब्याजदर तोकेको हो ।

अब सहकारी संस्थाहरुले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । यसअघि सहकारी संस्थाहरुले कर्जामा २५ प्रतिशतसम्म ब्याज लिने गरेका थिए ।

यसैगरी निक्षेपमा न्यूनतम १० प्रतिशत ब्याजदर तोकिएको छ । यसरी हेर्दा अब सहकारी संस्थाहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको अन्तर (स्प्रेड रेट) बढीमा ६ प्रतिशत हुने देखिएको छ । यसअघि पनि स्प्रेड दर ६ प्रतिशत भन्दा बढी लिन नपाउने नियम थियाे ।

समितिको निर्णयबारे जानकारी दिन सहकारी विभागले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे छ ।

सहकारी संस्थाहरुले कर्जामा महंगो ब्याज लिएको भन्दै आलोचना भइरहेको थियो ।

नेपाल राष्ट्र बैंकबाट नियमन हुने ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुमा पनि केही समयअघि ब्याजदरको सीमा तोकिएको थियो ।

लघुवित्तहरुले मनपरी ब्याज दिएको जनगुनासो बढेपछि राष्ट्र बैंक आफैंले कर्जामा १८ प्रतिशतमात्रै ब्याज लिन पाउने गरी ‘क्याप’ लगाएको थियो । सोही तरिकाले विभागले सहकारी संस्थाहरुको ब्याजदरमा क्याप लगाएको हो ।

Facebook Comments