व्यवसायमा प्रतिबद्धता र निरन्तरता हुनुपर्छः आचार्य, अध्यक्ष बगैंचा फार्म

राजनीतिक परिवार भएकाले अधिकांश समय मुलुकका बारेमा ठूला छलफल भइरहेको देख्ने बीरभद्र आचार्यलाई मुलुकको लागि योगदान दिने क्षेत्रमा काम गर्न सानै उमेरदेखि सोख थियो । तर युवा अवस्थामा छोटो समय जागिर र बाँकी अधिकांश समय कन्सल्टयान्टका रुपमा एनजिओ आइएनजिओमा काम गर्नुभयो ।

https://youtu.be/dZv7NWWalBE

काम गर्ने दौरान विभिन्न योजनाको निर्माण, तालिम, सेमीनार, प्रतिवेदन तयार पार्ने काम सयौंपटक भए । तर ती सबै कार्य कागजी मात्र थिए अर्थात् आचार्य आफैंलाई चित्त बुझ्दैनथियो । त्यस्ता कार्य डकुमेन्टसनका लागि राम्रा तर फिल्डमा भने नतिजा कम दिने खालका हुने आचार्यको तर्क छ ।

देशका लागि योगदान के बाट दिन सकिन्छ भन्ने सोच हुँदै गर्दा ०३७ सालपछिको राजनीतिक वातावरण अलिक बेग्ले ढंगले विकास भएको आचार्यको भनाई छ ।

आचार्यको भनाईमा काँग्रेस र कम्युनिष्ट भनेर जनमत समेत नराम्रोसँग विभाजित भयो जस्ले गर्दा बादविवाद बढ्ने राजनीतिक खिचातानी बढ्ने अवस्था आयो । जसका कारण आर्थिक भन्दा पनि राजनीतिक बाटोबाट भन्दा आर्थिक रुपमा केही गर्नुपर्छ भन्ने सोचाई आचार्यमा आयो ।

त्यही सोचाईले सार्थकता पाउने क्रममा भने बगैंचा फार्म हाउस एण्ड रिसोर्ट प्रा.लि.का रुपमा देखा परेको छ । जहाँ उन्नत बोयर जातका बाख्राहरु पाल्ने काम भइरहेको छ । हाल तीन सयको संख्यामा बाख्रा उक्त फार्ममा रहेका छन् ।

ब्रिडिङ प्रयोजनका लागि फार्म सञ्चालन भइरहेको छ । मुलुकका विभिन्न जिल्लाहरुमा बोयर जातका बोका तथा पाठीहरु समेत माग उच्च रहेको छ । बोयर जातको बाख्रा छिटो तौल बढ्ने र अधिक तौल हुने हुँदा सामान्य बाख्रामा भन्दा झण्डै ३ गुना बढी फाइदा मिल्ने आचार्यले जानकारी दिनुभयो ।

मानव संशाधन, जल, जमिन, पानी र भूबनौटका हिसावले नेपाल समृद्ध रहेको आचार्यको भनाई छ । नेपालको समृद्धिका लागि कृषि उत्पादनमा नै जोड दिनुपर्ने बताउने आचार्यले व्यवसाय अगाडि बढाउँदा आफ्नो व्यवसाय प्रति विश्वास र प्रतिवद्धता पहिलो आवश्यकता हुने धारणा राख्नुहुन्छ ।

युवाहरुलाई बाख्रा पालन गर्न सल्लाह दिने आचार्य कुनै पनि व्यवसायमा प्रतिबद्धता, कामप्रतिको लगनशीलता र निरन्तरता आवश्यक हुने बताउनुहुन्छ । लगानीकर्ता स्वयं प्रतिबद्ध भएर नलागेसम्म कुनै पनि व्यवसाय सफल नहुने तर्क आचार्यको छ ।

‘म आफैं पनि दिनभर फार्ममा व्यस्त हुन्छु, आचार्यले भन्नुभयो, आफ्नो स्थानीयसँग मिलेर काम गर्न चाहेपनि केही जिल्लाका स्थानीयहरु सहकार्यका लागि तयार भएनन्, शहरमा बसेका मानिसहरुसँग स्थानीय डराउने रहेछन् ।’

२०५४ सालमा आफैंले खरिद गरेको नवलपरासीको बेल्डिया भन्ने स्थानमा रहेको २ विगाह क्षेत्रफलमा फार्म सञ्चालित छ । जडिबुटी गर्न धेरै जग्गा आवश्यक पर्ने भएकाले थोरै लगानीमा बाख्रा पालन शुरु गर्न सकिने र श्रम पनि कम भएपनि हुने भएकाले बाख्रापालनमा आर्कषित भएको उहाँको भनाई छ ।

५ बर्षको अवधिमा फर्म मुनाफामा गएको भएपनि नगदै लाभाशं वितरण गर्ने अवस्था भने नरहेको उहाँको भनाइ छ । अघिल्लो बर्ष लगानी सन्तुलनको अवस्थामा आइपुगेको छ ।

उहाँलाई घाँस खेती गर्न भने जग्गा अभाव भएको छ । बाख्राका लागि डाले तथा हरियो घाँस आवश्यक पर्ने भएकाले कम्तीमा पनि ५ विगाह जमिनमा घाँस रोप्नुपर्ने भएपनि जग्गा प्राप्त हुन नसकेको उहाँको भनाई छ ।

मासुको आयात भइरहेको सन्दर्भमा उपयुक्त जमिनमा घाँसको आवश्यक व्यवस्थापन सहित बाख्रा पालेमा व्यवसायिक रुपमा सफल हुन सकिने आधार प्रशस्तै देखिन्छ ।

तस्वीरः वीरभद्र आचार्यको फेसबुक

Facebook Comments