सरकार र डा.केसी दुवै हठी भए : अधिवक्ता थापामगर

सचेतना समाजका अध्यक्ष एवं अधिवक्ता सुरेन्द्र थापामगरले आम नागरिकको आवाज उठाएका डा. गोविन्द केसीको जीवन रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सरकार र सत्याग्रही डा. केसीले आफ्ना हठहरुलाई त्यागेर वार्तामार्फत समस्या समाधान गर्नुपर्ने उहाँको भनाई रहेको छ । शुक्रबार पोखरामा आयोजित ‘डा गोविन्द केसीको अनसन र कानूनी शासन’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

थापाले गत साउन १० गते डा. केसीसँग सरकारले गरेको सहमतिअनुसार माथेमा प्रतिवेदनले दिएको सुझावलाई अक्षरशः पालना हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै गिरिधारी दाहालले राज्यले नै शिक्षा र स्वास्थ्य सञ्चालन गर्नुपर्ने बताउनुभयो । प्राध्यापक पद्मशरण रेग्मीले शिक्षा र स्वास्थ्यसम्बन्धी विधेयक बिना छलफल पारित गरेको बताउनुभयो । मेडिकल माफियाको ईशारामा सरकार धेरै चल्न नसक्ने उहाँको भनाई थियो ।

कार्यक्रमका सहभागीहरुले वार्ता र संवादबाट सहमति गर्न भन्दै नागरिकलाई अफ्टेरो नपार्न आग्रह गरेका थिए । चिकित्सकहरुले अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प बनाएकोप्रति उनीहरुले आक्रोश व्यक्त गरेका थिए । सचेतना समाजका अध्यक्ष सुरेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रम संस्थापक अध्यक्ष तिलक पराजुलीले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments