वाइडबडी जहाज संसदीय उपसमितिको प्रतिवेदन स्वीकार्य छैन – सरकारका प्रवक्ता बास्कोटा
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदको लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन सरकारलाई स्वीकार्य नभएको बताउनुभएको छ । नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले निष्कर्ष निकालेपछि सरकारका प्रवक्ताको यस्तो धारणा आएको हो ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाटमा सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले यस्तो बताउनुभएको हो । ‘लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदनलाई अन्तिम निर्णय जस्तो गरी प्रचार गरियो’, प्रवक्ता बाँस्कोटाले भन्नुभयोे, ‘त्यो सरकारलाई स्वीकार्य छैन ।’
प्रतिवेदनलाई उपसमितिले समितिमा पेश गरेको र उसको निर्णयपछि मात्र यस विषयमा सरकारले निर्णय लिने बास्कोटाको भनाइ छ । ‘उपसमितिले तयार पारेको प्रतिवेदनमाथि समितिले के निर्णय गर्छ ।
त्यसपछि मात्र सरकारले निर्णय लिन्छ’, बाँस्कोटाले भन्नुभयो, ‘यो विषयमा सरकारले छुट्टै समिति बनाएर छानबिन गर्न पनि सक्छ ।’ मन्त्री बास्कोटाले कसैमाथि अभियोग लाग्दैमा अभियुक्त प्रमाणित नहुने भन्दै उपसमितिको प्रतिवेदनलाई अन्तिम निर्णय जस्तैगरी प्रचार नगर्न आग्रहसमेत गर्नुभयो ।

