अबदेखि ट्रान्सक्रिप्ट २४ घन्टामै
त्रिभुवन विश्वविद्यालयले लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) २४ घन्टामै उपलब्ध गराउने भएको छ । शुरुमा शिक्षाशास्त्र संकायको ट्रान्सक्रिप्ट २४ घण्टामा उपलब्ध गराउँदै आएको त्रिविले अवदेखि स्नातक तहका सबै संकायका ट्रान्सक्रिप्ट २४ घण्टामै उपलब्ध गराउने भएको हो ।
त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आउने नयाँ वर्षदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराइने जानकारी दिनुभयो ।
त्रिविले ‘टीयु एक्जामिनेशन इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ नामक सफ्टवेयर सञ्चालन गर्दैछ । साेही सफ्टवेयर मार्फत निवेदन दिएको २४ घन्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको हो ।
यसैवीच त्रिविले परीक्षाफल पनि तीन महिनाभित्र प्रकाशित गर्ने तयारी गरेको छ । यसअघि परीक्षा दिएको नौ महीनासम्म पनि परीक्षाफल प्रकाशित हुने गरेकाे थियाे । अव भने त्रिविले तीन महिनाभित्रै परीक्षाफल प्रकाशित गर्ने छ ।
यसैगरी परीक्षा नियन्त्रण कार्यालय प्रादेशिक तहमा जाने भएको छ । अहिले विराटनगर, पोखरा, नेपालगंञ्ज र अत्तरियामा क्षेत्रीय कार्यालयमार्फत काम गरिरहेको कार्यालय अव प्रादेशिक तहमा सातवटै प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी त्रिविकाे रहेकाे छ ।

