व्यक्तिका गोपनीय विवरणहरु चीनलाई उपलब्ध गराएको जर्मन चान्सलरको आशंका

जर्मन चान्लसर एन्जेला मर्केलले व्यक्तिका गोपनीय एवं निजी विवरणहरु चिनियाँ कम्पनीमार्फत चीन सरकारलाई उपलब्ध हुन नदिनेतर्फ विशेष निगरानी अपनाउनुपर्ने बताउनुभएको छ । चिनियाँ विशाल प्रविधि कम्पनी हुवावेले बनाएका उपकरणबाट सुरक्षा चुनौती बढेको भन्दै अमेरिका लगायतका मुलुकले आलोचना गरिरहेका बेला मर्केलको यस्तो भनाइ सार्वजनिक भएको हो ।

जापनको टोकियोस्थित कायो विश्वविद्यालयमा मंगलबार आयोजित समारोहमा सम्बोधन गर्दै चान्सलर मर्केलले हुवावेका उपकरण प्रयोग गर्ने बारेमा जर्मनीमा ठूलो बहस चलिरहेको उल्लेख गर्नुभयो । उहाँले पाँचौं पुस्ताको दूरसञ्चार सञ्जाल ५जी निर्माण गरिरहेको हुवावेको सेवाका विषयमा चलिरहेको विश्वव्यापी बहसले सर्वत्र शंका उब्जाएको बताउनुभयो ।

यद्यपि जर्मनीको सूचना प्रविधि निगरानी निकायले हुवावेले बेइजिङका लागि जासुसी गर्न आफ्ना उपकरण प्रयोग गरेको भन्ने ठोस प्रमाण नपाइएको स्पष्ट पारेको छ । तर मर्केलले हुवावेमा संग्रह हुन सक्ने विवरणहरु चीन सरकारलाई उपलब्ध नगराएको सुनिश्चित गर्न आग्रह गर्नुभएको छ । उहाँले कम्पनीका विवरणहरु सरकारी निकायले प्राप्त नगरेको निश्चित गर्न उपयुक्त विधिहरु निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

हुवावे अहिले दूरसञ्चार उपकरण र मोबाइल नेटवर्क निर्माणमा विश्वकै ठूलो दूरसञ्चार कम्पनी भइसकेको छ । खासगरी हुवावेका उपकरणहरु विकासशील मुलुकहरुमा बढी बिक्री भएका छन् । कम्पनीले सस्तोमा दूरसञ्चार नेटवर्कका सामग्री उपलब्ध गराउने भएकाले पनि विकासशील मुलुकमा हुवावेको बजार तीव्र रुपमा विस्तार भएको हो ।

Facebook Comments