पोखरा ३३ मा गृहिणी इ साक्षर कार्यक्रम शुरु
पोखरा महानगरपालिका वडा नं. ३३ मा गृहिणी इ साक्षर कार्यक्रम शुरु भएको छ । महिलाहरुलाई लक्षित गरेर गृहिणी इ साक्षर कार्यक्रम शुरु गरिएको हो । पछिल्लो समय विकास भएको सूचना, प्रविधि इमेल, इन्टरनेट र सामाजिक सञ्जालबारे आधारभूत ज्ञानका साथै आधारभूत कम्प्युटर शिक्षा प्रदान गरिने बरपाण्डेथुम बहुउद्देश्यीय सिकाई केन्द्रका अध्यक्ष केशवराज लम्सालले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नंं ३३ का कालिकास्थान आसपासका १० वटा आमा समूहका २ २ जनाका दरले तालिम लिनेछन् । सिकाई केन्द्रको बार्षिक कार्यक्रम अन्तर्गत इ साक्षर कार्यक्रम गरिएको हो । गत बर्ष २० जनालाई ३ महिने तालिम प्रदान गरिएको थियो । कार्यक्रम सम्पन्न भएपछि तालिमका सहभागीहरुले पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिबारे आवश्यक सूचना लिन सक्ने लम्सालको भनाई रहेको छ ।

बुधबार कालिकास्थानमा काठमाण्डौ विश्वविद्यालयका प्रा.डा.मनिष पोखरेलले कार्यक्रमको उद्घाटन गर्नुभयो । उहाँले पछिल्लो समयमा सूचना प्रविधिबारे जानकारी लिन आवश्यक रहेको बताउनुभयो ।
सेवा नेपालकी अध्यक्ष कल्याणी शाहले इ साक्षर कार्यक्रमले महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ३३ नं. वडाका अध्यक्ष शिव आचार्य, भरतपोखरी बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक कृष्ण सुवेदी, वडा सदस्य शान्ति आचार्य लगायतले महिलालाई कम्प्युटर शिक्षा आवश्यक भएकोबारे आफ्ना भनाई राख्नुभएको थियो ।

