कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ ।

महाशाखाकाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको उल्लेख छ।

महाशाखाका अनुसार हाल मौसमको अवस्थामा देशभर साधारणतया बादल लागेको छ भने बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसाे तथा रातकाे समयमा समेत देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ ।

त्यस्तै दिउँसाे तथा रातकाे समयमा समेत देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार दिनकाे समयमा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

महाशाखाले शुक्रबार राती मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे उल्लेख गरेकाे छ ।

रातकाे समयमा कोशी प्रदेशको पहाडी र तराई भू-भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

Facebook Comments