काेशी, बागमती र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसमको अवस्थामा देशभर साधारणतया बादल लागेको छ । सबै प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार विहीबार दिउँसाे देशभर साधारणतया बादल लाग्नुका साथै देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनएवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे र कोशी प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ भने कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले विहीबार राती पनि देशभर साधारणतया बादल लाग्ने तथा देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा  बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे जनाएकाे छ। 

महाशाखाले कोशी प्रदेशको पहाडी र तराई भू-भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे उल्लेख गरेकाे छ ।

Facebook Comments