सुनसरी देवानगञ्जका पीडित परिवारसँग ७ बुँदै सहमति

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ ।

सहमति भएसँगै मृतक दुवै जनाकाे अन्तिम संस्कार गर्न दिवंगत ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावकका परिवार सहमत भएका छन् ।

गत साउन १० गते भएको घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावक र गृह मन्त्रालयबिच बिहीबार राति औपचारिक सम्झौता भएको हो ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको उक्त सहमतिमा पीडित पक्षले राखेका विभिन्न मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।

मृतक द्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई नेपाल सरकारले सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने सहमतिमा उल्लेख छ ।

घटनाका दोषीउपर प्रचलित कानुन बमोजिम तत्काल कानुनी कारबाही अगाडि बढाउने प्रतिवद्धता सरकारले जनाएकाे छ। त्यस्तै मृतकका परिवारका सदस्यलाई रोजगारीको अवसर,  घटनाको निष्पक्ष छानविन, स्मृति पर्क निर्माण गर्ने लगायतका सहमति पनि भएकाे छ ।

Facebook Comments