गण्डकी प्रदेशका नागरिकमा उच्च रक्तचापको समस्या
नेपालका ७ प्रदेश मध्ये गण्डकी प्रदेशमा सबैभन्दा धेरै उच्च रक्तचापका समस्या रहेको पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले गरेको स्टेप्स सर्भे–२०१९ मा गण्डकी प्रदेशमा सबैभन्दा धेरै उच्च रक्तचापको समस्या देखिएको हो ।
सर्भेक्षणमा जनसांख्यिक र बानी बेहोरा सम्बन्धी (सुर्तिजन्य पदार्थ, मदिरा, आहार विहार, शारिरिक क्रियाकलाप)लगायतका विवरणहरु संकलनमार्फत तथ्यांक तयार गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले जनाएको छ ।
जसका लागि मोटोपन र उच्च रक्तचापको ब्यापकता पत्ता लगाउन उचाई, तौल र रक्तचापको मापन गरिनुका साथै रगतमा चिनी र कोलेस्ट्रोलको मात्रा पत्ता लगाउन बायोकेमिकल मापनहरु संकलन गरिएकोपनि उल्लेख छ ।
स्टेप्स सर्भेका अनुसार गण्डकी प्रदेशमा उच्च रक्तचापको समस्या २९.९ प्रतिशत रहेको छ । जबकी नेपालको औषत उच्च रक्तचापको समस्या २४.५ मात्र रहेको छ ।
त्यस्तै अधिक मोटोपन हुनेको संख्यापनि गण्डकी प्रदेशमै रहेको तथ्यांकले देखाएको छ । स्टेप्स सर्भेको तथ्यांक अनुसार गण्डकी प्रदेशमा अधिक मोटोपन हुने संख्या ३४.६ प्रतिशत रहेको छ । जबकी नेपालको औषत अधिक मोटोपन हुनेको संख्या २४.३ प्रतिशत मात्र रहेको छ । यसैगरी मोटोपन ८ प्रतिशतमा रहेकोपनि जनाइएको छ ।
गण्डकी प्रदेशमा रगतमा चिल्लोपना (कोलेस्ट्रोल)को समस्या १२.९ प्रतिशतमा रहेको देखिएको छ । उनीहरुले अहिलेपनि औषधीको प्रयोग गरिरहेको तथ्यांकमा दाबी गरिएको छ ।
सर्भेक्षणले गण्डकी प्रदेशमा औषत नुनको मात्रा ९.२ ग्राम प्रयोग गर्ने गरिएको देखिएको छ । स्वास्थ्यको हिसाबले दैनिक ५ ग्राम वा सो भन्दा कम प्रयोग गर्नुपर्ने भएपनि गण्डकी प्रदेशको औषत भन्दा झण्डै दोब्बर नुनको प्रयोग गर्ने गरेको तथ्यांकले देखाएको हो ।
यसैगरी गण्डकी प्रदेशमा मुटु रोगको जोखिमपनि उच्च रहने तथ्यांकले औंल्याएको छ । हालकै अवस्थामा मोटोपना, उच्च रक्तचाप, सुगरलगायतका कारण अबको १० वर्ष भित्रमा यस प्रदेशमा मुटु रोगको जोखिम ३० प्रतिशतमा पुग्ने दाबी गरिएको हो ।
पछिल्लो समयमा स्वस्थ जीवनशैली नअप्नाउँदा उच्च रक्तचाप, मोटोपना, सुगरलगायतका समस्या देखिएको बरिष्ठ अनुसन्धान अधिकृत बिहंगम विष्टले बताउनुभयो ।
उनले अपर्याप्त शारिरिक क्रियाकलाप, अब्यबस्थित खानपीन, स्वास्थ्यप्रतिको लापर्वाही नै समस्याको जड भएको बताउनुभयो । तरकारी, फलफूलको प्रयोगमा भन्दा जंकफूडको प्रयोगले पनि समस्या बढाउँदै लगेको उहाँको भनाई छ ।
तथ्यांकका अनुसार मानिसलाई प्रतिव्यक्ति दैनिक ४ सय ग्राम तरकारी आवश्यक पर्ने भएपनि हाल ९९ ग्राम मात्रै प्रयोग गर्ने गरिएको छ । यसको कमीका कारणपनि स्वास्थ्यमा समस्या देखिएको अनुसन्धान अधिकृत सरोज भट्टराईले बताउनुभयो ।
स्वस्थ रहन स्वस्थ जीवनशैली अप्नाउनुपर्ने भट्टराईले बताए । उहाँले तयार पारिएको तथ्यांक स्वास्थ्य मन्त्रालयलाई बुझाइने जानकारी दिनुभयो । उहाँका अनुसार बुझाइएको तथ्यांक अनुसार सचेतना कार्यक्रम ल्याएर आम मानिसको जीवनशैली सुधार्नु आवश्यक रहेको छ ।

