नवौं संस्करणको पोखरा महोत्सवमा जुलोजिकल पार्क निशुल्क अवलोकन गर्न पाइने

नवौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । महोत्सव पुस २७ गते शुक्रबारदेखि शुरु हुँदैछ । आयोजक युनाइटेड क्लवले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी नवौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

स्थापना कालदेखी पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लवले आयोजना गर्न लागेको नवौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव आयोजक मुल समारोह समितीका संयोजक तथा क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छभने आयोजक महोत्सव उद्घाटनको संघारमा रहेको छ । महोत्सवकै आयोजना गरी युनाइटेड क्लवले नौ वर्षको अवधिमा गरिव तथा जेहेन्दार विद्याथीहरुको शिक्षाको लागी गण्डकी प्रदेशभित्रका १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति कोषको स्थापना गरिसकेको छ भने विभिन्न ग्रामीण क्षेत्रमा रहेका आर्थिक अभाव भइ स्वास्थ्य लाभ लिन नसकेकाहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरिरहेको पनि गुरुङले जानकारी दिनुभयो ।

वृहत सरसफाई

यसैवीच नवौ संस्करणको पोखरा महोत्सव संघारमा आइपुग्दा महोत्सव आयोजक युनाइटेड क्लवले महोत्सव स्थल वरपर बृहत सरसफाइ गरेको छ । पुस २७ देखी माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने पोखरा महोत्सवको पूर्व सन्ध्यामा आयोजक युनाइटेड क्लवको अगुवाईमा हस्पिटलचोक, महोत्सव स्थल अमरसिंह चौर हुदै अमरसिंह चोक आसपासका क्षेत्रमा बुधबार सरसफाइ गरिएको हो ।

जुलोजिकल पार्क अवलोकनको अवसर

नवौ संस्करणको पोखरा महोत्सवमा यसपटक युनाइटेड क्लवको पहलकदमीमा पोखराको लेखनाथ पचभैयामा निर्माणधिन जुलोजिकल पार्कको अवलोकनको ब्यवस्था मिलाइने भएको छ । पचभैया जाने दर्शकका लागी निस्शुल्क वसको ब्यस्था मिलाइएको क्लवका संस्थापक अध्यक्ष तथा पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमाल बख्रेलले जानकारी दिनुभयो ।

स्थापना कालदेखी पोखरामा मानवनिर्मित खुल्ला चिडियाखानाको निर्माण हुनुपर्दछ भन्ने अवधारणा अनुरुप क्लवको पहलमा लेखनाथको पचभैयामा ४५ लाख ८५ हजार रुपैया र विभिन्न सरकारी निकायको सहयोगमा ज्योलोजिकल पार्क निर्माणको काम तीब्र गतिमा अगाडि वढेको बख्रेलले जानकारी दिनुभयो ।

बख्रेलका अनुसार पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१, र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा पशुपंछी उद्दार केन्द्रको लागी भवनहरुको निर्माण, खानेपानी जडान, यातायातको सहजिकरणको लागी बाटो निर्माण कार्य अगाडी बढेको छ भने मृगस्थली, बाघ राख्ने खोर निमार्ण सम्पन्न भईसकेको छ ।

गण्डकी प्रदेश सरकारको सहयोग र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय वन निर्देशनालयको प्रत्यक्ष निगरानी मा थप चरा ,मृग, बाँदर, हिमालयन थार र भालुको ठूला —ठूला इनक्लोजरहरु, वन्यजन्तुको लागी पानी ट्याक्की ,घाईते वन्यजन्तुको उपचार कक्ष, विरामी वन्यजन्तु बोक्ने स्टेचर विभिन्न इनक्लोजर सम्म पूग्ने गोरेटो बाटो र प्रवेशद्वार निमार्ण कार्य पनि अगाडि बढिसकेको छ ।

गण्डकी प्रदेश सरकार बाट पोखरा जुलोजिकल पार्कको डि.पि.आर तयार पार्नका लागि रु. १ करोड ५० लाख विनियोजन भएको छ भने विभिन्न जनावारहरु राख्नका लागी १ करोड ५० लाख बजेट विनियोजन भइ काम अगाडि बढेको छ । जुलोजिकल पार्क निर्माण सम्पन्न भएपछि पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने विश्वास युनाइटेड क्लवको रहेको छ ।

Facebook Comments