पाण्डवेश्वर धामको प्रबर्द्धनमा सरकारको साथ रहन्छ : पर्यटन मन्त्री अधिकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दाङमा अवस्थित पाण्डवेश्वर महादेव धामको प्रबर्द्धनमा सरकारको सहयोग रहने बताउनुभएको छ । पाण्डवेश्वर महादेव धाम मुल आयोजक समितिका प्रतिनिधिसँग आफ्नै निवासमा भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो । पाण्डवेश्वर धाम जस्ता धार्मिक आस्थाको धरोहर रहेको भन्दै सरकारले विशेष प्राथमिकतामा राखेको उहाँको भनाई छ ।
पर्यटन प्रवद्र्धनमा स्थानीयको जागरुकताले धारापानी एक नमुना भएको चर्चा गर्दै सरकारको सबैखाले साथ र सहयोग रहने मन्त्री अधिकारीले प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्री अधिकारीले स्थानीय दानवीरहरुको दानबाट धार्मिक पर्यटन प्रबर्द्धनमा उल्लेख्य प्रगाति भएकोमा खुशी व्यक्त गर्दै पूर्वाधार प्रबर्द्धनमा सरकारले थप मद्दत रहने बताउनुभयो ।

धामको प्रबर्द्धन तथा भौतिक विकासको लागि आगामी फाल्गुन ११ देखि फाल्गुन १८ सम्म महायज्ञको आयोजना गरिएको छ । पाण्डवेश्वर महादेव मन्दिर परिसरमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा विराट आध्यात्मिक पर्या–पर्यटकीय केन्द्र स्थापनार्थ कार्यक्रम गर्न लागिएको मुल आयोजक समितिका महासचिव विष्णुराम आचार्यले बताउनुभयो ।
मुल आयोजक समितिका महासचिव विष्णुराम आचार्यको संयोजनमा गएको टोलीले मन्त्री अधिकारी, राष्ट्रिय सभा सदस्य कोमल वली, सांसद मेटमणी चौधरीलाई समेत भेट गरेको थियो । यसअघि टोलीले शुक्रबार डाक्टर भिर्माजुन आचार्यसंग र राप्ती समाज काठमाडौ प्रविणकुमार रेग्मीसंग पनि भेटघाट गरेको थियो । महायज्ञ सम्पन्न गर्न गणेश अधिकारीको अध्यक्षतामा ३ हजार एक सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । महायज्ञको कथाबाचन बाचन प्रविण पण्डित दीनबन्धु पोखरेलले गर्ने बताइएको छ ।

