पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच भड्कियाे हिंसा
पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच परस्पर भड्किएको हिंसाका कारण २४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा दुई जना गर्भवती महिला र बालबालिका समेत रहेको प्रहरीले जनाएको छ ।
हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसहरुको हत्या भएपछि प्रधानमन्त्री जेम्स मारापेले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । पपुवा न्यूगिनीको पश्चिमी क्षेत्रमा रहेको हेला प्रान्तमा आदिवासी समुदायहरुबीच सदियौंदेखि हिंसात्मक झडप भइरहेका छन् ।
हेला प्रान्तमा विगत तीन दिनदेखि आदिवासी समुदायबीच हिंसात्मक झडप भइरहेको प्रहरीले जनाएको छ । हेला प्रान्तीय प्रशासक विलियम बान्डोले २४ जनाको मृत्यु भएको पुष्टी भइसकेको र घटनामा अरु व्यक्तिको पनि मृत्यु भएको हुनसक्ने बताउनुभयाे ।
हालैमात्र नियुक्त हुनुभएका प्रधानमन्त्री जेम्स मारापेले थप सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिँदै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्ने बताउनुभएकाे छ । घटनालाई आफ्नो जीवनकैे सबैभन्दा दुःख दिन भएको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभएकाे छ ।
एजेन्सीकाे सहयाेगमा

