अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या, केसीकै विरोधमा अनशन

चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औँ चरणको सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखिन थालेको छ । सत्याग्रह थालेको तेस्रो दिन डा. केसीको रक्तचाप कम हुँदै गएको र छातीमा समस्या देखिन थालेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् ।

शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालका चिकित्सकले उहाँको स्वास्थ्य परीक्षण गरेका छन् । बुधबारदेखि इलामको फूलगाछीस्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय रहेको घरमा केसीले आफ्ना समर्थकको उपस्थितिमा सत्याग्रह सुरु गर्नुभएको हो । डा. केसीले सुगरको परीक्षण गर्न पनि मान्नुभएको छैन ।

डा. केसीको सर्मथकमा पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेव ढुंगानाले उहाँकै अनशनस्थलमा ७२ घण्टे भोकहडताल थाल्ने बताईएको छ । भोक हडताल कहिलबाट बस्ने भन्ने मिति भने उहाँले खुलाउनु भएको छैन । यता इलाममै डा. केसीको अनसनको विरोधमा काठमाडौंबाट ईलाम पगेका विजय थापाले भने अर्को अनशन थाल्नुभएको छ ।

Facebook Comments