८४ पुजा र ब्रतबन्धपछि बृद्धाश्रममा सहयोग

पोखरा महानगरपालिका वडा नं. २५ हेमजा सुइखेत निवासी भिमप्रसाद अधिकारीले आफ्नो चौरासी पुजा र नातिहरु आदर्श र आशिषको ब्रतबन्ध कार्यक्रमपछि तुलादान बापतको रकम र केही खाद्यन्न सामाग्री पोखरा बृद्धाश्रमलाई सहयोग गर्नुभएको छ ।

सोमबार पोखरा १७ सितापाइलामा रहेको पोखरा बृद्धाश्रममा श्रीमती याेगमाया, छोराहरु नेत्रपाणि, स्थानेश्वर, लोकराज, नारायणप्रसाद र सुर्यप्रसाद तथा अन्य परिवारका उपस्थितिमा उहाँले तुलादानको रकम प्रदान गर्नुभएको हो ।

सो अवसरमा बोल्दै छोरा स्थानेश्वर अधिकारीले बुवाको इच्छा अनुसार बृद्धाश्रममा सहयोग गरेको बताउँदै ज्येष्ठ नागरिक बस्ने आश्रममा आगामी दिनमा समेत सहयोग गर्ने बताउनुभयो । अर्का छोरा नारायणप्रसाद अधिकारीले ज्येष्ठ नागरिकलाई घर समाजमा नै सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । बाध्यताबस आश्रममा बस्न पुगेकाले सबैले सहयोग गर्नुपर्ने र आफुहरुले बिगतमा पनि सहयोग गरेको र आगामि दिनमा पनि सहयोग जारी रहने बताउनुभयो ।

बेलायत बस्ने कान्छा छोरा सूर्यप्रसादले पोखरा बृद्धाश्रमले ज्येष्ठ नागरिकलाई पुर्याएको सेवा सुविधालाई थप सहज बनाउन बार्षिक ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आश्रमका संरक्षक बसन्तकेशब पराजुलीले सहयोगदाता भिमप्रसाद अधिकारी आफ्नो बालसखा रहेको स्मरण गर्दै समाजसेवामा अधिकारीको सक्रियता अनुकरणीय रहेको बताउनुभयो ।

Facebook Comments