सबै जनतालाई अधिकार सम्पन्न बनाए मात्र लोकतन्त्र डा. बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्र भनेको पाँच वर्षमा एकपटक भोट हाल्नु मात्रै नभएको बताउनुभएको छ । पार्टीको जारी जनसंवाद यात्रा अन्तर्गत सोमबार धादिङको सल्यानटारमा आयोजित कार्यक्रममा बोल्दै संयोजक भट्टराईले लोकतन्त्र जिन्दावाद, मुर्दावाद भन्ने वा पाँच वर्षमा भोट हाल्ने बिषय नभएको बताउनुभयो ।

लोकतन्त्र सबै जनतालाई अधिकार सम्पन्न बनाउने, रोजगारी दिने, समृद्धि ल्याउने र समृद्धिलाई समान ढंगले वितरण गर्ने हो प्रणाली रहेको उहाको भनाई थियो । पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले हालको राजनीतिक परिवर्तनलाई संस्थागत गरेर तलसम्म र्पुयाउनुका साथै राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनले साथ दिनुपर्ने बताउनुभयो । यसो नभए लोकतन्त्र दिगो नहुने भट्टराईको भनाई छ ।

भट्टराईले राजनीतिक परिवर्तनको जगमा टेकेर आर्थिक सामाजिक परिवर्तनलाई अघि बढाउनु पर्ने आवश्यकता समेत औल्याउनुभयो । देशमा आर्थिक परिवर्तन ल्याउन नयाँ खालको क्रान्ति आवश्यक रहेको उल्लेख गर्दै उहाँले विचार, व्यवस्था र प्रविधिको क्रान्ति अहिलेको आबश्यकता रहेको बताउनुभयो । संयोजक भट्टराईले असल र इमान्दार मान्छे मिलेर फेरि एउटा अभियान सुरु गर्न नयाँ शक्तिले जनसंवाद थालनी गरेको प्रष्ट पार्नुभयो ।

Facebook Comments