रसुवा नुवाकोट र धादिङमा माघे संक्रान्तिमा गोरु जुधाइने
परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा यस बर्षपनि गोरु जुधाइने भएको छ । यसपटकको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ ।
रसुवा–नुवाकोट पर्यटन समाजले काठमाण्डौमा पत्रकार सम्मेलन गरी गोरु जुधाउने पर्वबारे जानकारी दिइएको हो । वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र गत वर्षदेखि पञ्चकन्या घलेगाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो । ।

आयोजकका अनुसार नुवाकोटको तारुकमा २३, बेतावतीमा ८ र घलेगाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भइसकेका छन् ।
तारुका गोरु जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारुकेले गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको जानकारी दिनुभयो ।
गोरु जुधाइ पर्वलाई स्थानीय कला संस्कृतिसँग जोडेर आन्तरिक तथ बाह्य पर्यटन प्रवद्र्धनमा समेत् जोड्नुपर्ने स्थानीयको माग छ । विजेता तथा उपविजेतालाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

