पोखरा महोत्सवः मौलिक लोक संस्कृति प्रबर्द्धनमा सहयोगी

नवौ संस्करणको पोखरा महोत्सवले गण्डकी प्रदेशमा लुकेर रहेका मौलिक लोक संस्कृतिको प्रस्तुतिले दर्शकलाई मनोरन्जनका साथै पुराना लोक संस्कृति बुझ्न सहयोग मिलेको छ । महोत्सवमा प्रत्येक दिन गण्डकी प्रदेश भित्र लुकेर रहेका लोक संस्कृतिमा आधरित सांस्कृतिक कार्यक्रमलाई दर्शक समक्ष प्रत्यक्ष प्रस्तुत गरेको छ ।

महोत्सव आयोजक युनाइटेड क्लवले गण्डकी प्रदेशमा चर्चित मगर जातिको कौरा, सोरठी, थाली नाच, गुरुङ जातिको घाटु र रोधी, नेवार जातिको तयामचाः लाखे, धिमे, ट्याकटुके, थारु समुदायको लाठी र घैला नाच, ब्राह्मण समुदायको बालन भजन जस्ता मौलिक संस्कृति अंगालेका झांकी तथा र्यालीहरुलाई समावेश गरिएको महोत्सव सांस्कृतिक उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सव मार्फत् विभिन्न समुदायका संस्कृतिका बारेमा जान्ने अवसर प्राप्त हुने महोत्सव मुल आयोजक समितीका संयोजक लालकाजी गुरुङको भनाइ छ । महोत्सवको चौथो दिन सम्म आइपुग्दा पार्वती गुफा भजन किर्तन समुह पर्वतको वालन, घांसीकुवा युवा क्लव तनहुको मौलिक कौराहा, सल्यान खनडाडा ताउँ घडेरी तमु समाजको रोधी, रामबजार पुन समाजको पुख्यौली नाच प्रस्तुत गरिएको छ ।

महोत्सव अवधिभर झिं सिर्जनशील नेवा समाज दुलेगौडा तनहुको धिमे र ट्याकटुके नाच, पोँचोको तमु समाजको सोरठी नृत्य, लाली गुराँस पुन मगर समाज लामाचौरको थाली नाच, कमलटारी मध्यवर्ती सामुदायिक होमस्टेको लाठी र घैला नाच, ज्यामिरे आमा बावु समुह स्याङजाको घाटु नृत्य, धर्मोदय दश अवतार वालन समुह पाल्पाको वालन नाच र नेपाल मगर महिला संघ कास्कीको कौराहा नृत्य प्रत्यक्ष प्रदर्शन गरिने कार्यक्रम रहकेो छ ।

Facebook Comments