पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित व्यवसाय व्यवस्थापन तालिम समापन

पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको व्यवसाय व्यवस्थापन विषयक ५ दिने तालिम सम्पन्न भएको छ । तालिममा पोखराका विभिन्न व्यवसायिक संस्थाका १६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

तालिममा व्यवसाय विस्तार, व्यवसाय र बजारीकरणमा नयाँ प्रविधी तथा सीपको प्रयोगमा केन्द्रित थियो । तालिमका सहभागीलाई प्रमाणपत्र बितरण गर्दै कार्यक्रम तथा संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले तालिममा सिकेका विषयलाई व्यवसाय बिस्तारमा लगाउन आग्रह गर्नुभयो ।

‘सामान उही भए पनि त्यसलाई तलमाथि गरेर सजावट परिवर्तन गर्दा ग्राहक आकर्षित हुन्छन्’, संघका कार्यबाहक अध्यक्ष कोइरालाले भन्नुभयो,‘तालीमले पनि आफूले थाहा पाइरहेको विषयलाई नयाँ तरिकाले प्रयोग गर्न सिकाउँछ ।’ कार्यवाहक अध्यक्ष कोइरालाले बजारमा भित्रिएका विज्ञापनका नयाँ शैली, प्रविधीको प्रयोग तथा नयाँ व्यवसायका सम्भावनाबारे पनि व्यवसायीहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

संघका महासचिव अर्जुन पोखरेलको संचालन रहेको समापन कार्यक्रममा कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे र प्रशिक्षक रामप्रसाद तिवारीले पनि सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै तालीमका प्रशिक्षक तथा आयोजक संस्था औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखराका प्रमुख रामप्रसाद तिवारीले सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

संघका उपमहासचिव तथा तालीम व्यवस्थापन उपसमितिका संयोजक चिनु गुरुङले आउँदा दिनहरुमा पनि यस्ता तालीमहरु आयोजना गरिने बताउनुभयो । प्रशिक्षार्थी उमा सापकोटा र जगदिश लामिछानेले आफूहरुलाई लेखालगायतका थप तालीमको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

Facebook Comments