गण्डकी प्रदेशको सम्पूर्ण स्थानिय तहमा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने
गण्डकी प्रदेशका सम्पूर्ण स्थानीय तहमा दिवाकालिन जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने भएको छ । सामाजिक विकास मन्त्री नरदेवी पुनले पछिल्लो समय जेष्ठ नागरिकहरु एक्लो हुदै गइरहेकाले प्रदेश सरकारले दिउसोको समयमा दिउसोमा जम्मा हुने, एक आपसमा भलाकुसरी गर्ने गरी दिवा सेवा केन्द्र सञ्चालन गर्ने बताउनुभयो ।
सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगर वडा नम्बर २० भलाम हरिहर गुफा सन्यास आश्रममा जेष्ठ नागरिकलाई सहायता सामाग्री वितरण गर्ने उद्देश्यले आयोजित निशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री पुनले पछिल्लो समय जेष्ठ नागरिकहरु आफ्नैै निवासमा एक्लोपनको महशुस गर्ने अवस्था आएको बताउनुभयो । पछिल्लो समय विभिन्न कारणले आफ्ना वावु आमाको स्याहारमा छोरा, छोरी, बुहारीहरुले समय दिन नसक्दा यस्तो अवस्था आएको उहाँको भनाई छ ।
गण्डकी प्रदेश सरकारले जेष्ठ नागरिकलाई सहायता सामाग्री वितरण गर्ने गरी चालु आर्थिक वर्षमा ६६ लाख बजेट छुट्टयाएको र सोही अनुरुप पोखरा २० भलामबाट अभियान सुरु गरी जेष्ठ नागरिकहरुलाई विशेष गरी आंखा, कान र मुटु सम्बन्धी समस्या पहिचान गरी सहायता सामाग्री प्रदान गरिएको हो ।
सो अवसरमा वोल्दै राष्ट्रिय जेष्ठ नागरिक महासंघ गण्डकी प्रदेश पोखराका अध्यक्ष कुशुमकेशव पराजुलीले दिवा सेवा केन्द्रले जेष्ठ नागरिकहरुको एक्लोपना हटाउन भूमिका खेल्ने बताउनुभयो ।
मंगलवार सम्पन्न शिविरमा पोखरा २० भित्र रहेका १ सय ३५ जना जेष्ठ नागरिकको स्वास्थ्य जांच गरिएको थियो । उक्त अवसरमा मुटु सम्बन्धी ८७, कान सम्बन्धी २० र आंखा सम्बन्धी ६७ जनाले सेवा लिएका थिएभने २० जनालाई चस्मा र कान सम्बन्धी सुन्ने उपकरण (हेयरिङ हेड)१८ जनालाई प्रदान गरिएको थियो ।

