इंग्ल्याण्डलाई विश्वकपको उपाधि, न्युजिल्याण्डका कप्तान केन सर्वोत्कृष्ट
निर्धारित ५० ओभर र सुपर ओभरमा पनि खेल बराबरी भएपछि इंग्ल्याण्डले बाउन्ड्रीका आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको छ ।
रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर समान २४१ रन र सुपर ओभरमा पनि दुबै टोलीले समान १५ रन बनाएका थिए । त्यसपछि च्याम्पियनको छनोट बाउन्ड्रीका आधारमा लिइयो, जसमा इंग्ल्याण्डले बाजी मारेको हो ।
इंग्ल्याण्डले न्यूजिल्याण्डले भन्दा ६ वटा बाउन्ड्री बढी हानेको छ । यसअघि सन् २०१५ मा पनि न्युजिल्यान्ड फाइनलमा पुगेर अष्ट्रेलियासँग पराजित भएको थियो । चौथो पटक फाइनल खेलेको इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि उचालेको हो ।
न्युजिल्याण्डका कप्तान केन सर्वोत्कृष्ट खेलाडी
न्युजिल्यान्डका कप्तान केन विलियम्सनलाई विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको छ । विश्वकप उपाधि नजिक पुगेर पनि सुपर ओभरमा समेत बराबरी हुँदै बाउन्ड्री (चौका) मा इंग्ल्यान्डसँग पराजित भएको न्युजिल्याण्डका कप्तान केनलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो ।

निकै रोचक प्रतिस्पर्धावीच उपविजेतामै सीमित न्युजिल्यान्डलाई यो अवस्थामा ल्याउन पनि केनको भूमिका महत्वपूर्ण थियो । केनले यो विश्वकपमा दुई शतक र दुई अर्धशतक सहित कूल ५७८ रन बनाउन सफल रहे ।

