आज मकर संक्रान्ति विशेष रुपमा मनाईंदै

आज माघ १ अर्थात् माघे संक्रान्ति । मकर संक्रान्ति, माघी आदि नामले चिनिने आजको दिन नेपालभर विशेष रुपमा मनाईंदैछ । आजको दिन अर्थात् माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ पनि भनिएको हो ।

मकर संक्रान्ति, माघे संक्रान्ति र घ्यू चाकु खाने दिनको नाममा प्रचलित यो संक्रान्ति सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेको उपलक्ष्यमा यो चाड मनाउने धार्मीक प्रचलन रहिआएको हो ।
सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि(साउने संक्रान्ति) र मकर राशि(माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मान्ने गरिन्छ ।

Photo: THT/ File

मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाउने गरिन्छ । माघे संक्रान्तिका दिन प्रसिद्ध धार्मिकस्थलहरु देवघाट, सुनसरी, गुल्मीको रिडी, काभ्रेको पनौती, दोलालघाट, कन्काई लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्ने गर्दछ ।

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने उल्लेख छ ।

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् । स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति । (मकर संक्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ । जाडो महिनामा कम्बल दान स्वभाविक पनि हुन आउँछ । माघे संक्रान्तिका दिन भारतको प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भन्ने गरिन्छ ।

आजको दिनमा तुलसीमा जल चढाउने र परिक्रमा गर्ने, मन्दिरमा गएर चाकु वा कालो तिल दान गर्ने, भगवानलाई तिल–चाकुको लड्डु बनाएर भोग दिने, शिवलिंगमा कालो तिल चढाएर जल अर्पण र प्रसाद वाढ्ने प्रचलन रहेको छ ।

Facebook Comments