नुवाकोटमा गोरु जुधाई मेला
नुवाकोटमा गोरु जुधाई मेला सम्पन्न भएको छ । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले मेलाको समुद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै मन्त्री विश्वकर्माले गोरु जुधाई मेलाले संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयो ।

साथै उहाँले गोरु जुधाईको प्रचार प्रचार मार्फत् खेल पयर्टनका रुपमा विकास गर्न सकिने धारणा समेत व्यक्त गर्नुभयो । उहाँले कार्यक्रमका लागि स्थायी रुपमा जग्गा व्यवस्थापनका लगि पहल गर्ने पनि उहाँको भनाई थियो । अहिले निजी जग्गामा मेला सञ्चालन हुँदै आएको छ ।
कार्यक्रममा नुवाकोट क्षेत्र नं. २ का सांसद नारायण खतिवडा, बझाङका सांसद भैरवबहादुर सिंह, प्रदेश सभाषद केशव पाण्डे, गाउँपालिका अध्यक्ष रमेश वस्ती, प्रमुख जिल्ला अधिकारी उद्धव थापा,
वडा नं. ३ का अध्यक्ष सूर्यमान श्रेष्ठ, २ का समरबहादुर आले तारकेश्वर गाउँपालिका खेलकूद विकास विकास समितिको बुद्धि प्रधान लगायतले खेल पर्यटनको विकासमा सहयोग गर्ने बताएका थिए ।

मौलिक साँस्कृतिक चाड माघे संक्रान्तिका दिन हुने गोरुजुधाइ मेला नुवाकोटकै पहिचान र संस्कृति बनिसकेको छ । यो मेला नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका ३ तारुकामा पर्ने चन्दनीडाँडामा करीब एक सय ५० वर्षदेखि चल्दैछ ।

पहिला फुर्के, मिल्के, तारे, बर्ने, सिँगारे, जुरुे, झिल्के, सिन्दूरे, माले, काले, रातेजस्ता अनगिन्ती नाम गरेका गाउँका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाइने गरेकामा अहिले भने सहभागी हुने र विजेता हुने दुवै गोरुधनीलाई पुरस्कारको व्यवस्था सहित प्रतियोगिता गराउने प्रचलन छ ।

४५ मिनेटको अवधि जुधाइने र हारजित नभएमा बराबरी मानिने र यो समाचार तयार पार्दासम्म १० हल गोरु जुधाइएको नेकपाका नेता एवं स्थानीय राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँहलाई मामाघर आएका बेला माघे संक्रान्तिमा बाजागाजा सहित साँढे जुधाएर मनोरन्जन एवं स्वागत गरेपछि यो परम्परा शुरु भएको किवन्दति छ ।

यो परम्परा अहिले भने नुवाकोटमा मात्र नभई राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ । जुधाउन ल्याइएका गोरुले प्रतियोगिता जितेमा गाउँमा वर्षैभरि आफ्नो चर्चा भैरहने स्थानीयवासीको भनाई छ । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । मोटा बलिया गोरुहरु धुलो उडाउँदै लगातार एक घण्टासम्म भिड्ने गर्छन् ।
स्थानीयले मेलामा जुधाउनकै गोरुलाई मीठोमसिनु खुवाएर पाल्ने गर्दछन । आफूले पीठो खाएर गतिलो आहारा गोरुलाई खुवाउने गरेको स्थानीयको भनाई छ । गोरुको जीत र हारमा सबैको इज्जत र सम्मान जोडिने स्थानीयको मान्यता छ ।
तस्वीर : राजेन्द्र न्यौपानेको फेसबुकबाट साभार

