यु–१८ आइटीएफ टेनिसमा फाइनल खेल हुँदै
अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगिता अन्तर्गत शुक्रबार फाइनलका खेल हुँदैछन् । यसअघि बिहिबार एकलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।
महिला डबल्सतर्फ चाइनाका ले इ लियु र इटोङ्ग झाङ्गको जोडी फाइनलमा प्रवेश गरेका छन् । ताइवानका जुवान इ ली र ली स्नि लिनको जोडीलाई ६–४, ६–४ ले पराजित गर्दै उनीहरुले फाइनलमा स्थान बनाएका हुन् । त्यसैगरि अर्को सेमिफाइनलमा चाइनाका युजुन लुओ र जियु झाङ्गले जित हाँसिल गर्दै अन्तिम दुईमा आफ्नों नाम लेखाए । उनीहरुले चाइनाकै क्ङिलिङ झाङ्ग र जिछुअन जेङको जोडीलाई ६–०, ६–४ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।
बिहिबार पुरुष एकलतर्फ भएको क्वाटरफाइनलका खेलहरुमा जापानका जेनी इनोले मलेशियाका जियान क्योङ्गलाई ६–०, ६–० ले, भारतका उदयबिर सिंहले अमेरिकाका हानु पटेललाई ६–१, ६–१ ले, भारतका इशान सेठ्ठीले चाइनाका चेन लियाङ्गलाई ६–४, ६–३ ले तथा भारतका सार्थक सुदेनले जापानका केइजु मियाकेलाई २–६, ६–२ र ६–३ को कठिन सेटमा पराजित गरे ।
महिलातर्फको एकलमा भारतका रेन्नी सिंग्लाले चाइनाका इटोङ झाङ्गलाई ६–१, ६–१ ले, चाइनाका ले इ लियुले हंगेरिका अन्ना लाजोसलाई ६–०, ६–२ ले, भारतका रिया बोभेजाले ताइवानका लि सिन लिनलाई ७–६, १–६ र ७–६ ले, बुल्गेरियाका भिक्टारिया भेलेभाले चाइनाका क्ङ्गिलिङ झाङलाई ६–३, ७–६ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पुरुष तथा महिला डबल्सतर्फ फाइनल खेल हुने छ । विजेता खेलाडीलाई शुक्रबारनै पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

