पोखरा महोत्सवमा जनवादी गायक शर्मा सम्मानित
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा जनवादी गायक जीवन शर्मालाई सम्मान गरिएको छ । आयोजक युनाइटेड क्लवले प्रत्येक वर्ष लोक संस्कृति मार्फत् समाजमा योगदान दिने व्यक्तिलाई सम्मान गर्दै आएकोमा यस बर्ष शर्मालाई सम्मान गरिएको हो ।
सो अवसरमा सम्मानित गायक शर्माले हिमाली, पहाडी मधेसी हामी सवै नेपाली, सिमली छायामा बसी र यस पाली त यस्तै भो आमा भन्ने पञ्चे बाजाको गीत प्रस्तुत गर्नुभएको थियो ।
महोत्सवको अवसर पारी क्लवले यस अघि नेपाली लोपोन्मुख ठाडो भाकाका सर्जक भेडीखर्के साइला दीर्घराज अधिकारी, गायिकाद्वय माया गुरुङ र उमा गुरुङलाई सम्मान गरिसकेको महोत्सव प्रचार प्रचार संयोजक शान्त बहादुर थापाले जानकारी दिनुभयो ।
महोत्सवमा लोकदोहोरी, हास्यव्यंग्य, परम्परागत सांस्कृतिक प्रस्तुति रहने गरेका छन् । महोत्सवमा बिहीबार लोकदोहोरी तर्फ ज्योती मगर, जीवन दाहाल, माधव चापागाइ, आयुस परियार, कृष्णा गुरुङ, लक्ष्मी नेपाली, सीता परियार लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
हास्यब्यङ्ग्य तर्फ दीपक थापाको प्रस्तुती, तरेली सांस्कृतिक परिवारको प्रस्तुति, लालीगुराँस पुन मगर समाज लामाचौरको मगर संस्कृतीमा आधारित थाली नाच आर्कषणको रुपमा रहने महोत्सव सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकार दिनुभयो । यसाका साथै लाइभ ब्याण्ड तर्फ दीपक बज्राचार्य एण्ड रिदम ब्याण्डको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

