प्रधानमन्त्री थेरेसा मे विरुद्धको अविश्वास प्रस्ताव बेलायती संसदबाट अस्वीकृत

बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । विपक्षी लेवर पार्टीले प्रधानमन्त्री मे विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन्सले अस्वीकृत गरेपछि मुख्य विपक्षी दल लेबर पार्टीले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

हाउस अफ कमन्समा लामो छलफल पश्चात् बुधबार राति भएको मतदानमा प्रधानमन्त्रीको पक्षमा ३२५ मत परेको थियो भने विपक्षमा ३०६ मत परेको थियो । गत मङ्गलबार ब्रेक्जिट अनुमोदन सम्बन्धी मतदानमा सरकारको पक्षमा २०२ र विपक्षमा ४३२ मत परेको थियो ।

विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिट सम्झौता फिर्ता लिनुपर्ने बताउनुभएको छ । इयूसँग भएको ब्रेक्जिट सम्झौतालाई बेलायती संसदले अनुमोदन गर्नुपर्ने प्रावधान छ । ब्रेक्जिट सम्झौता संसदबाट अनुमोदन नभएपछि स्थगन हुन सक्ने बताइएको छ । प्रधानमन्त्री थेरेसाले ब्रेक्जिट कार्यान्वयनमा ढिलाई गर्न नचाहे पनि संसदले भने अस्वीकृत गरेकाले अफ्टेरो भएको छ ।

Facebook Comments