पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५को तयारी पुरा
पाल्पाली समाज पोखरा रजत जयन्ती मनाउने भएको छ । कार्यक्रम अन्तर्गत माघ ५ गते पोखरा सभागृहमा ‘सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५’ गरिने भएको छ । सो सांगीतिक साँझ तथा सम्मान कार्यक्रमको तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
कार्यक्रमका गठित विभिन्न उपसमितिले समेत तोकिएको जिम्मेवारी पुरा गरिसकेको समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिनुभयो । पाल्पाको रहनसहन, मौलिक संस्कृति, कला, भेषभूषा लगायतको पहिचान गरी श्रव्य–दृश्य सामग्री मार्फत् प्रदर्शन गरी पाल्पालीहरुको आफ्नो जन्मथलोलाई चिनाउन पनि कार्यक्रम सहयोगी हुने आयोजकको विश्वास रहेको छ ।
कार्यक्रममा पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्रीमार्फत झलक प्रदर्शन गरिनुका साथै पाल्पाको मौलिक संस्कृतिको रुपमा रहेका वालन, कौरा, सोरठी (मारुनी) नृत्य प्रदर्शन गरिने कार्यक्रम संयोजक अनन्त अधिकारीले जानकारी दिनुभयो । ‘पाल्पाली करुवा, ढाका तथा पाल्पाको पहिचान चुकाउनी, बटुक, हाँसको छोयला लगायत खानाका परिकारका स्टल समेत राखिने आयोजकले जनाको छ । विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
कार्यक्रममा पाल्पाली कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याएकोमा नेपाल सरकार मन्त्रिपरिषद् पूर्व अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अभिनन्दन गरिनुका साथै पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना, महानायक राजेश हमाल, वरिष्ठ कलाकार नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, इन्द्र जिसीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । सम्मानित कलाकारहरुसहित पाल्पाली कलाकार नवीन पौडेल, जमुना राना, शान्ति डोटेल, दुर्गाराज पाण्डेको सांगीतिक प्रस्तुति रहनेछ ।
सांगीतिक साँझको अलावा सोही दिन साँझ पाल्पाको पर्यटन प्रर्वद्धनको लागि पाल्पाका २ नगरपालिका र ८ गाउँपालिकाका प्रमुख लगायतका जनप्रतिनिधिसँंग बृहत् छलफल कार्यक्रम पनि आयोजना गरिने बताइएको छ । कार्यक्रमको शीर्ष प्रायोजनमा सिटिजन फर्निचर ट्रेड लिंक प्रालिले गरेकोछ । सहप्रायोजक एलजी डिजिटल साउण्ड एण्ड भिजन रहेको छ । बैंकिङ पार्टरनमा सिद्धार्थ बैंकले साथ दिएकोछ ।

