नयाँ मर्यादाक्रम प्रति निर्वाचन आयोगको असहमति
निर्वाचन आयोगले सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा सङ्लग्न व्यक्तिको नयाँ मर्यादाक्रमप्रति असहमति जनाएको छ । आयोगका पदाधिकारीको आज बसेको पूर्ण बैठकले मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीलाई उक्त निकायका प्रमुखको लगत्तै पछाडि कायम गर्न गराउन आग्रह गर्ने निर्णय गरेको छ ।
आयोगले संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम सरकारका कर्मचारीभन्दा धेरै तल राखिनुले संवैधानिक पदको अपमान मात्र हुने नभई समग्रमा संवैधानिक निकायको संस्थागत गरिमा तथा मान–मर्यादामा समेत आँच आउने ठहर गरेको छ ।
मर्यादाक्रम निर्धारण गर्दा संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रिया, सङ्घीय संरचनामा संवैधानिक निकायको भूमिका तथा कार्यक्षेत्र, अन्तर्राष्ट्रिय प्रचलन र परम्परा एवं प्रचलित कानूनलाई आधार मान्नुपर्ने जनाएको छ । लोक सेवा आयोगले पनि हिजो पछिल्लो मर्यादाक्रमप्रति ध्यानाकर्षण भएको जनाएको थियो ।

