बाबा फाउण्डेसनद्वारा जनप्रिय मा.वि. लाई ५० थान डष्टविन प्रदान
बाबा फाउण्डेशन नेपाल र पोखरा महानगरपालिका वडा नं. ८ को सहयोगमा जनप्रिय मा.वि. सिमलचौरमा ५० थान डष्टविन वितरण गरिएको छ । सोमबार बिद्यालय प्राङगणमा आयोजित एक समारोहमा बाबा फउण्डेशन नेपालका सचिव टंकराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरापालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बराल प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु लक्ष्मी कौशल र पुष्पराज सिग्देल साथै बाबा फाउण्डेसनका सदस्य प्रेम प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो । फाउण्डेसनले वि.सं. २०६५ सालदेखि वातावरण र बालबालिकाका क्षेत्रमा उल्लेखनिय कार्यहरु गर्दै आइरहेको छ । वातावरण संरक्षणका लागि पोखराका पैदलमार्गमा वृक्षारोपण गरी हरियाली प्रवद्र्धन गरेको छ ।
फोहोरमैला व्यवस्थापनका लागि डष्टविन वितरण गरी पोखरालाई स्वच्छ सुन्दर हरियाली बनाउने कार्यमा जुटिरहको छ । समाजमा पीछडिएका वर्ग तथा शिक्षाबाट वन्चित बालबालिकाहरुलाई पठनपाठनको व्यवस्थाका लागि पाठ्यपुस्तक, झोला तथा विद्यालय पोषाक पनि वितरण गर्दै आइरहेको छ ।
पोखरा महानगरपालिका वडा नं. ८ को सहयोगमा जनप्रिय मा.वि. सिमलचौरमा प्रत्येक कक्षाहरुमा २÷२ ओटा कागजजन्य पदार्थ र प्लाष्टिजन्य पदार्थ छुट्याई कक्षाकोठामा फोहोरको वर्गीकरण गर्नका लागि ५० थान हरियो र निलो डष्टविन कक्षाका मनिटरहरुलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रम संयोजक दिपक वि.क.का अनुसार उक्त कार्यक्रमलाई विद्यालयमा फोहोरमैला व्यवस्थापन तथा फोहोर वर्गीकरण परियोजनाको रुपमा लैजाने र कार्यक्रम सम्पन्न गर्नका लागि विद्यालयका विद्यार्थीहरु, शिक्षकशिक्षिका र सरोकारवालाहरुसँग समन्वय गरिने कुरा उल्लेख गरेका छन् । पहिलो प्राथमिकता कक्षाकोठामा विद्यार्थीहरुलाई फोहोरको वर्गीकरण गरी व्यवाहरिक ज्ञान दिने कुरामा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले यस कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरी वडा ८ सँग सहकार्यमा वातावरणमैत्री र बालमैत्री कार्यक्रमहरुमा सधै अघि बढ्ने कुरा व्यक्त गर्नुभयो ।
उक्त डष्टविन वितरण कार्यक्रमका सभाध्यक्ष्य तथा संस्थाका सचिव टंकराज अधिकारीले बाबा फाउण्डेसन नेपालबाट श्री जनप्रिय मा.वि. का दुई छात्राहरुलाई पठनपाठनमा सहायोग गर्दै आइरहेको कुरा उल्लेख गर्नुभयो साथै यस परियोजनाले पक्कै पनि विद्यालयलाई सफा सुन्दर गराई विद्यार्थीहरुले धेरै सिर्जनात्मक र व्यावहारिक ज्ञान प्राप्त गर्ने र यस प्रकारका कार्यक्रमहरु अरु विद्यालयहरुमा पनि सञ्चालन गर्ने कुरा जानकारी गराउनुभयो ।
विद्यालयका प्र.अ. बाबुराम पौडेल बाबा फाउण्डेसन नेपाल र पोखरा महानगरपालिका वडा नंं. ८ लाई धन्यवाद दिई जनप्रिय मा.वि. लाई वातावरणमैत्री र बालमैत्री बनाउन कार्यहरु गर्ने कुरा उल्लेख गर्नुभयो ।

