सफल पोखरा म्याराथनको उपाधि आर्मीका रिमाललाई
पोखरामा मंगलबार भएको १३ औं संस्करणको सफल पोखरा अन्तर्रा्ष्ट्रिय म्याराथन–२०७५ को उपाधि नेपाल आर्मीका हरि रिमालले जितेका छन् । निर्धारित ४२.१९५ किमीको म्याराथनमा आर्मीका रिमालले २ घण्टा ४० मिनेट १० सेकेण्डमा दुरी पूरा गरी उपाधि सहित नगद १ लाख रुपैयाँ र मेडल हात पारेका हुन् ।
२ घण्टा ४० मिनेट २० सेकेण्डमा दुरी पूरा गरेका एपीएफका खेमबहादुर खत्री दोस्रो हुँदै ७० हजार रुपैयाँ सहित मेडल जिते भने नेपाल पुलिसका भूमिराज राईले २ घण्टा ४१ मिनेट १७ सेकण्ड र नेपाल आर्मीका पूर्ण तामाङले २ घण्टा ४२ मिनेट ५५ सेकेण्डमा दुरी पूरा गरी क्रमशः तेस्रो र सान्त्वना भए । उनीहरुले ५० हजार र ७ हजार रुपैयाँ साथमा मेडल जिते ।
विजेतालाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, सुजल डेरी प्रालि, पोखराका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, आयोजक भूपू खेलाडी मञ्च नेपाल अध्यक्ष तेज गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट लगायतले पुरस्कार वितरण गरेका थिए ।
म्याराथनसहित १० किमीको महिला/पुरुष, ५ किमीको छात्र÷छात्रा, ४ सय मिटरको ह्वीलचियर दौड, १ सय मिटरको दृष्टिविहीन दौडसहित रन फर फन लगायत गरी करिब ५ हजार धावक सहभागी भएको आयोजकको दाबी छ ।

