नारायणी नदीमा रिभर क्रुज सञ्चालनमा आउने

नारायणी नदिमा रिभर क्रुज(पानी जहाज) सञ्चालन हुने भएकाे छ । निर्माण र संचालन हुन लागेको रिभर क्रुज शिप (पानीजहाज) दशैअघि संचालनमा आउने भएको छ ।

रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिवार भरतपुरमा पत्रकार सम्मेलन गरी निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

राइनाे वाटर इन्टरटेन्मेन्ट प्रा.लि.ले क्रुज सञ्चालनका लागि पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० बमाेजिम अनुमति लिएर क्रुज सञ्चालन गर्न लागेकाे हाे ।

भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थित ज्ञानेश्वर सामुदायिक बनको काभ्रेघाट बगरमा क्रुज निर्माण भइरहेको छ ।

करिव ३५ करोडको लागतमा निर्माण भइरहेको क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुने प्रवन्ध निर्देशक रामचन्द्र कंडेलले जानकारी दिनुभयो ।

क्रुजमा बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुज, अपरान्ह खाना नै क्रुजमा खाँदै रमाउन चाहानेका लागी लन्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज सहितकाे व्यवस्था हुने पनि निर्देशक कँडेलले जानकारी दिनुभयाे ।

प्रत्येक क्रुजिङ्ग करिब ३ घण्टाको हुनेछ । काभ्रेघाटदेखि सुरु यात्रा देबघाट पुगेर गोलाघाटसम्म लैजाने गरी संचालनको तयारी भइरहेकाे जनाइएकाे छ ।

एक पटकमा २ सय जनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज २ तल्ला, १ सय फिट लम्बाइ र २५ फिट चौडाइएको हुनेछ । रिभर क्रुजले नारायणी किनारलाई संधै चलायमान गराउने निर्माण कम्पनीको दाबी छ ।

क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीहरुको अध्ययन र वातावरणीय प्रभाव मुल्यांकन पश्चात नर्वेजियन प्रबिधिको प्रयोगबाट भारतीय प्राबिधिकहरुको सहयोगमा नारायणी नदि किनारमै निर्माण भइरहेको छ ।

निर्माणको जिम्मा लिएको भारतिय कम्पनी ग्रान्डडुअरले लामो समयदेखि भारत, मलेसिया, श्रीलंका, दुबई, सिंगापुर लगाएतका देशमा सफलतापूर्वक काम गरिसकेको छ ।

नेपालले सन् २०२० पर्यटन बर्ष मनाउने तयारी गरिरहेका बेला रिभर क्रुज जहाजले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

Facebook Comments