बेलायतद्वारा आइएस लडाकूसँग विहे गर्ने युवतीको नागरिकता रद्द
बेलायत सरकारले सिरिया पुगेकी किशोरी शमिमा बेगमको नागरिकता रद्द गरेको छ । चार वर्षअघि इस्लामिक अतिवादी समूह आईएसका लडाकुसँग बिहे गर्न पुगेकी बेगमको नागरिकता रद्द गरिएको बेलायती अधिकारीहरुले जानकारी दिएका हुन् ।
चार वर्षअघि १५ वर्षकै उमेरमा बेगम सिरिया गएको बताइन्छ । बेगमका आमाबुवा बंगलादेशी भएकाले बेगम पनि अर्को देशको नागरिक बन्न योग्य रहेको बेलायती अधिकारीहरूले जनाएका छन् ।
बेगमलाई केही समय अघि एउटा सिरियाली शरणार्थी शिविरमा फेला पारिएको थियो । आईएसको अन्तिम प्रभाव क्षेत्र बगुजबाट भाग्दै गर्दा बेगम उक्त स्थानमा पुगेको विश्वास गरिएको छ । सोही समयमा वेगमले त्यहाँ छोरा जन्म दिएको पनि प्राप्त समाचारहरुमा उल्लेख गरिएको छ ।
यसअघि बेगमका २ सन्तानको भने निधन भएको बताइएको छ । बेगमका श्रीमान् इस्लाम अपनाएका एक डच नागरिक भएको बताइएको छ । बेगमले आफूसँग बंगलादेशको राहदानी नभएको र कहिल्यै बंगलादेश नगएको जानकारी गराउनुभएको छ ।
क्यानडा पुगेपछि बेगमले पुनर्जन्म भएजस्तो बताउँदै आफ्ना आमाबुवा बंगलादेशी भएकाले आफु राज्यविहीन नहुने तर्क गरेपनि परिवारले भने सरकारी निर्णयलाई कानुनी चुनौती दिने ठानिएको छ ।
बंगलादेशले भने यस विषयमा कुनै प्रतिक्रिया जनाइसकेको छैन । बेगमको नवजात शिशुको हकमा कानुन अनुसार नागरिकताबाट बञ्चित गरिनुअघि बेलायती अभिभावकको कोखबाट जन्मिएकाहरूलाई बेलायती नै मानिने उल्लेख छ । (एजेन्सी)

